नेपालीहरुले आफ्नो भाषा, धर्म र संस्कृति जोगाउन आवश्यक छ : अध्यक्ष अधिकारी



२० फागुन २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ मा तीन महिने तामाङ भाषा प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको छ ।

प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि तथा बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ का वडाध्यक्ष राजु अधिकारीले संपुर्ण नेपालीहरुले आफ्ना भाषा, धर्म, संस्कृति, रितिरिवाज, चालचलन लगायतका परम्परा जोगाउन आवश्यक रहेको बताए ।

तीन महिने तामाङ भाषा आफुले मात्र सिक्ने भन्दा पनि त्यसलाई व्यवहारमा उतार्न अनुरोध गर्दै वडाध्यक्ष अधिकारीले भने, अन्य भाषालाई भन्दा पहिला आफ्नो मातृभाषा जान्न र सिक्न आवश्यक छ त्यसमा सबैले ध्यान दिनु पर्छ ।

बूढानीलकण्ठ नगरपालिका शिक्षा शाखा प्रमुख जगन्नाथ उपाध्यायले सबैभन्दा बढि तामाङ समुदायको बसोबास रहेको बागमति प्रदेश रहेको जानकारी गराए । तामाङहरु भित्र पनि आ–आफ्नो ठाउँ अनुसार फरक भाषा बोलिने बताए । काठमाडौं उपत्यका भन्दा अन्य जिल्लामा तामाङहरुले आफ्नो भाषा बोल्दै आएको बताउँदै काठमाडौं उपत्यकामा बसोबास गर्नेहरु लाई आफ्नो भाषा बोल्न समस्या रहेको समेत जनाए ।

कार्यक्रममा तामाङ घेदुङ संघका महासचिव बावु घिसिङले तामाङभित्र पनि आफ्नो ठाउँ अनुसार विभिन्न छुट्टाछुट्टै भाषा बोलिने जानकारी गराए । तामाङ जातिको मात्र नभएर नेपालका विभिन्न जातजातिको भाषा लोप हुने अवश्था आएको छ यो राम्रो पक्ष हैन उनले भने ।

बूढानीलकण्ठ नगरपालिका वडा नं ११ द्वारा आयोजित कार्यक्रम कपन जनजाति महिला समूहको संयोजनमा भएको हो ।  कपन जनजाति महिला समूहकी अध्यक्ष अनिता तामाङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सीता थापा मगरले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्