पूर्वडीआइजी शाहविरुद्ध उच्च अदालतमा मुद्दा दायर



२० फागुन २०७६, काठमाडौं

नेपाल प्रहरीका पूर्वडीआइजी महेशविक्रम शाहविरुद्ध उच्च अदालतमा मुद्दा दायर भएको छ।

विसं २०७२ सालमा प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले नामै नभएका कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट लाखौं ठगी गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीमाथि उच्च अदालतमा मुद्दा दायर भएको स्रोतले जनाएको छ।

अख्तियारले उनीसँग पटक पटक बयान लिइसकेको छ। शाहले पदबाट गत माघमा अवकाश पाएका थिए। उनी भ्रष्टाचारमा मुछिएपछि प्रहरी प्रधान कार्यालयले पनि उनीमाथि अनुसन्धान गरेको थियो।

शाहसहित तत्कालीन लेखापाल प्रहरी नायव निरीक्षक दिपेन्द्रप्रसाद पनेरु तथा लेखा सहायक प्रहरी हवल्दार केशव सिंह ऐरी, कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जिव बिशंखेविरुद्ध पनि मुद्दा दायर भएको छ।

उनीहरुले ३३ लाख ३८ हजार ८४ रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्