सरकारी कार्यालयमा टोकन नै दलालको कब्जामा



२० फागुन २०७६, काठमाडौं

एक सातापछि श्रम तथा रोजगार कार्यालय विराटनगरमा पुनः श्रम स्वीकृत गराउन आएका इलाम रोङ गाउँपालिका–३ का गुणराज शर्मालाई काम सक्न दिनभर लाइनमा बस्नु प¥यो ।

टोकन लिएर अनलाइन फाराम भराउन शर्मा यस अगाडि पनि विराटनगर आएका थिए । श्रम तथा रोजगार कार्यालयमा सेवाग्राहीले आफ्नो काम गराउन टोकन लिनुपर्ने नियम राखिएपछि एउटै कामका लागि शर्माले दोहोरो आउजाउ गर्नुपरेको हो ।

सेवाग्राहीले टोकन पनि अनलाइनबाटै लिनुपर्ने नियम छ । आमसेवाग्राहीलाई अनलाइन फाराम भर्न जति असहज छ, टोकन लिन पनि त्यत्तिकै झन्झट बेहोर्नु पर्ने बाध्यता परेपछि शर्मा फाराम भराउन र टोकन लिन यस अगाडि आउनुपरेको थियो ।

सेवाग्राहीको पहुँचमा टोकन लिनदेखि फाराम भर्नसम्म अनलाइन सुविधा नभएपछि कार्यालय परिसरका दलालकै शरणमा पुग्नुपर्दछ । एक सातामा दोहोरो आउजाउसहित आठ हजार रुपियाँ खर्चेपछि पुनः श्रम स्वीकृतिको काम भयो, शर्माले भने, टोकनमा पनि दलालको हालिमुहाली चल्दो रहेछ । सरकारी कार्यालयले जारी गर्ने टोकन सेवाग्राहीको हातमा आउनु अगावै दलालसँग मोलमोलाइ गरेर लिनुपर्ने अवस्था रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा नवराज कट्टेलले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्