‘सपनालाई बीचमै अलपत्र पारेर म अलप हुन्नँ’ [प्रमको भिडिओ सन्देश]



१९ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणपछि आफू चाँडै स्वस्थ भइ नियमति काममा फर्किने बताएका छन्।

सोमबार (आज) अस्पताल भर्ना हुनुभन्दा अगाडि भिडिओ सन्देशमा प्रधानमन्त्री ओलीले आफ्नो सम्पूर्ण जीवन संघषै-संघर्षमा बितेको बताउँदै आफू चाँडै स्वस्थ भइ नियमति काममा फर्किने बताएका हुन्।

यस्तै उनले अस्पतालबाट ऊर्जा र आत्मविश्वासलाई पनि साथै लिएर आउने पनि उल्लेख गरेका छन्।

“मेरो सिङ्गो जीवन कुनै न कुनै किसिमको संर्घषमा बित्दै आएको छ, विविध समस्याहरूसँग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न म बाध्य हुन पुगेको यहाँहरू सबैलाई जानकारी नै छ”, प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “आजभन्दा झण्डै १२ वर्ष अघि मेरा दुबै मिर्गौलाले काम गर्न छोडेपछि २०६४ साउनमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएको थिएँ। त्यतिबेला नेपालमा मिर्गौला प्रत्यारोपणको सुविधा थिएन। आगामी फागुन २१ गते बुधबार फेरि मैले मिर्गौला प्रत्यारोपण गराउँदैछु। त्यसको चिकित्सकीय तयारीका लागि म आजै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्मा भर्ना हुदैछु।” प्रधानमन्त्री ओलीले भिडिओमा भनेका छन्।

यस्तै प्रधानमन्त्री ओलीले सबैलाई ढुक्क रहनसमेत आग्रह गरेका छन्। “भनिन्छ, आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजवुत तुल्याउन सकिन्छ। कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौं। त्यसलाई ब्यूँताउनका लागि गत निर्वाचनमा मेरो नेतृत्वको वरीपरी तपाईहरू सबैले आफूलाई उभ्याउनु भयो”, प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “यस वर्षलाई हामीले समृद्धिको आरम्भ वर्ष भनेका छौं। जसरी खेलको बीचमा ‘बेष्ट स्टाइकर’ले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न।” ओलीले भनेका छन्।

यसैगरी उनले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्। ओलीको बुधबार (पर्सि) मिर्गौला प्रत्यारोपण हुँदै छ। उनलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला पनि आज नै अस्पताल भर्ना भइसकेकी छिन्।

भिडिओ सन्देश

प्रतिक्रिया दिनुहोस्