नेपाली जनप्रतिनिधि नै भारतीय भएको खुलासा



१९ फागुन २०७६, काठमाडौं

महोत्तरीका एक स्थानीय तहका जनप्रतिनिधि भारतीय नागरिक रहेको खुलेको छ।

भारतीय नागरिक नेपालमा जनप्रतिनिधि रहेको भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीमा उजुरी परेपछि यसको खुलासा भएको हो।

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष जितेन्द्र चौधरी भारत र नेपाल दुवै देशको नागरिक रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि यो कुराको खुलासा भएको हो।

भारतीय मतदातासूचीमा वडाध्यक्ष चौधरी र उनका बुवा हिरा चौधरीको नाम देखिएपछि स्थानीय हरिश्चन्द्र ठाकुरले उजुरी दिएका थिए।

कसैले अर्को देशको नागरिकता लियो भने उसको नेपालको नागरिकता कायम नरहने व्यवस्था नेपालको नागरिकता ऐन, २०६३ ले उल्लेख गरेको छ।

तर, नागरिकताको सिफारिस र नागरिकताको प्रतिलिपि लिन सिफारिस गर्ने जनप्रतिनिधिकै दोहोरो नागरिकता भएको प्रमाण भेटिएपछि स्थानीयवासी समेत आश्चर्यमा परेका छन्।

स्थानीय तहको चुनावमा स्वतन्त्रबाट वडाध्यक्षमा जितेका चौधरी भारतको सितामढी जिल्लाको सिरसिया बजारको बासिन्दा रहेको प्रमाण फेला परेको छ।

भारतको निर्वाचन आयोगको लिष्टमा समेत चौधरीको फोटो सहितको नामावली देखिएको छ भने उनको बुवा हिरा चौधरीको समेत फोटो सहित भारतको भोटर लिष्टमा नाम उल्लेख छ।

उनीहरुले सन् २०१९ मा भारतीय लोक सभा निर्वाचनमा मतदान समेत गरेका पाइएको छ। वडाध्यक्ष चौधरीविरुद्ध रामगोपालपुर नगरपालिका वडा नं. ८ का स्थानीय हरिश्चन्द्र ठाकुरले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा नागरिकता छानविनको माग गर्दै उजुरी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्