मतदानमार्फत् टुंगो लाग्दै प्रदेश नं. २ को नाम र राजधानी



१९ फागुन २०७६, काठमाडौं

प्रदेश नं. २ को नाम र राजधानी मतदानमार्फत् टुंगो लाग्ने भएको छ।

सहमति जुटाउन नसकेपछि प्रदेश सभामा निर्वाचनमार्फत् नाम र राजधानीको टुंगो लगाउन लागिएको हो।

नाम र राजधानीको टुंगो लगाउन २३ फागुनमा मतदान हुनेछ। २२ फागुनमा बस्ने प्रदेश सभा बैठकमा नामाकरण र स्थायी राजधानी बारे टुंगो लगाउने प्रक्रियाबारे सदनलाई जानकारी गराएपछि अर्को दिन मतदान गर्ने तयारी भएको प्रदेश सभा सचिवालयले जनाएको छ

करिब ३ महिनादेखि अवरुद्ध प्रदेश सभा बैठक आगामी २२ फागुनमा बस्न लागेको हो। उक्त बैठकले प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउने प्रक्रियाको कार्यसूचीबारे सदनलाई जानकारी गराइने सभामुख सरोजकुमार यादवले बताए।

उनले कार्यसूचीबारे सदनलाई जानकारी गराएपछि २३ फागुनको बिहान ८ बजेदेखि सदनमा नाम र राजधानीको प्रस्तावमा मतदान प्रक्रिया शुरु हुनेछ।

प्रदेशको नामाकरणमा नेकपाले जानकी–मधेश र कांग्रेसले मिथिला–मधेश नामकरण गर्न सत्तारुढ दलहरुलाई सुझाएका छन्।

प्रदेश नंं. २ मा समाजवादी पार्टीको ३० र राजपा नेपालको २५ सांसद छन् भने प्रमुख विपक्षी दल नेकपाका ३२, काँग्रेसको १९ र रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी फोरमका १ जना सांसद प्रदेशसभामा छन्।

प्रतिक्रिया दिनुहोस्