संसदमा ‘गाँजा खेती विधेयक’ : १८ वर्षपछि खेती, २१ वर्षपछि विक्री-वितरण



१९ फागुन २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद तथा पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले १८ वर्ष उमेर पुगेपछि गाँजाको खेती गर्न पाउने गरी प्रतिनिधि सभामा ‘गाँजा खेती विधेयक’दर्ता गराएका छन्।

सांसद तामाङले गैर सरकार विधेयक (प्राइभेट बिल)का रुपमा गाँजा खेती सम्बन्धी कानून निर्माणको प्रस्ताव गरेका हुन्। उनले विधेयकमा गाँजा खेतीका लागि पूर्वअनुमति लिनुपर्ने प्रस्ताव गरेका छन्।

यस्तो अनुमति स्थानीय तहबाट पाइनेछ। तर कुन कुन स्थानीय तहबाट यस्तो अनुमति दिने भन्ने टुङ्गो केन्द्र सरकारले लगाउनेछ। यसरी अनुमति लिँदा गाँजा खेती गर्न चाहने कृषकले जग्गाको कित्ता टुङ्गो लगाउनुपर्नेछ।

स्थानीय तहले एउटा परिवारले कूल जग्गाको कति जग्गामा गाँजा खेती गर्न अनुमति दिने भन्ने हद तोक्नेछ। कृषकले गाँजा खेतीका लागि अनुमति प्राप्त गर्न गाँजाको बोट तथा त्यसबाट उत्पादन गर्न सकिने पदार्थको अनाधिकृत उपयोग तथा प्रयोग नियन्त्रणको लागि अवलम्बन गरिने उपाय समेत सुझाउनुपर्नेछ।

विधेयकमा तामाङले १८ वर्ष भन्दा कम उमेरका व्यक्तिको संलग्नता देखिए गाँजा खेतीको अनुमतिपत्र नपाइने व्यवस्था गर्न सुझाएका छन्। यस्तै २१ वर्ष पूरा नभएका वा गर्भवति महिलालाई विक्री वितरण गर्न वा निःशुल्क उपलब्ध गराउन नपाइने प्रावधान विधेयकमा छ।

विधेयकले गाँजाको विक्री वितरणलाई समेत व्यवस्थित बनाउन प्रस्ताव गरेको छ। उत्पादन भएको स्थान, अनुमति पत्र नंम्बर, चेतावनीमूलक सूचना र प्याकेट भित्रको परिणाम खुलाएर मात्र कृषकले बेच्न पाउनेछन्।

गाँजा विक्री वितरण गर्न चाहनेले समेत अनुमपति पत्र लिनुपर्ने प्रावधान विधेयकमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्