सुशील र रोजनलाई स्वर्ण



१८ फागुन २०७६, काठमाडौं

सुशील न्यौपाने र रोजन गौतमले चौथो आरुणी कप उपत्यकाव्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । सुशील यु–१० तथा रोजन यु–१२ ब्वाइज सिंगल्समा च्याम्पियन बने । स्वर्ण विजेताद्वय आयोजक आरुणी स्कुलका हुन् ।

यु–१० ब्वाइज सिंगल्स फाइनलमा सुशीलले आफ्नै स्कुलका गौरव बस्नेतलाई ११–५, ६–११, १३–११ र ११–९ को सेटमा पराजित गरे । यु–१२ ब्वाइज सिंगल्स फाइनलमा रोजनले विजेश्वरीका एड्रिन शाहीलाई ११–७, ५–११, ११–५, ६–११ र ११–० को सेटमा हराए ।

यु–१६ ब्वाइज सिंगल्समा एभरेष्टका समिर खत्री पहिलो भए । उनले फाइनलमा आरुणीका सुशान्त चौलागाईंलाई ११–८, ११–८ र १२–१० को सोझो सेटमा पाखा लगाए । यु–१४ ब्वाइज सिंगल्स फाइनलमा एभरेष्टका हिमाल विष्टले प्रोक्सिमाका रोमन थापा मगरलाई ११–८, ११–७ र ११–२ को सीधा सेटमा पन्छ्याउदै स्वर्ण जिते ।

ब्वाइज डबल्समा एभरेष्टका समिर खत्री र हिमाल विष्टको जोडीले स्वर्ण जिते । फाइनलमा उक्त जोडीले आरुणीका सुशान्त चौलागाईं र रोजन गौतमको जोडीलाई ११–५, ११–६ र १२–१० ले निराश पारे । सोही स्पर्धाको गल्र्स फाइनलमा प्रोक्सिमाका दिया देउला र नर्मदा खाइतुको जोडीले प्रभातका आरती सुवाल र प्रदिपा सुवालको जोडीमाथि ११–७, ११–९ र ११–८ को जित दर्ता गर्दै पहिलो स्थान हात पारे ।

विजेतालाई आरुणीको अभिभावक दिवसका दिन शनिबार पुरस्कृत गरिने आरुणीका प्रिन्सिपल हिक्मत दाहालले जनाएका छन् । त्यसै दिन टिम च्याम्पियनको पनि घोषणा गरिने छ । दुईदिने प्रतियोगितामा ३२ विद्यालयका ३ सय १६ खेलाडीले १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । ४ स्पर्धाको फाइनल शनिबार नै सम्पन्न भइसकेको छ ।

कास्की सेमिफाइनलमा
कास्की प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । कास्की सेमिफाइनल पुग्ने अन्तिम टोली हो । कास्कीअघि आयोजक रोयल सेन्ट्रल स्पोर्ट्स, टाइम्स र गोल्डेनगेटले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

कास्कीले प्रतिस्पर्धात्मक खेलमा सोलो बास्केटबल नेपाललाई ८४–८१ ले पराजित गर्‍यो । जितसंगै कास्की समूह ‘बी’ को उपविजेता भयो । पहिलो क्वाटरमा २६–१९ को अग्रता लिएको कास्की दोश्रोमा १४–१८ र तेश्रोमा २०–२४ ले पछि पर्‍यो । चौथो तथा अन्तिम क्वाटरमा कास्कीले २४–२० को अग्रता लिदै सेमिफाइनलमा स्थान निश्चित गर्‍यो । कास्कीको जितमा सागर विकले २१ अंक योगदान गरे । कास्कीकै राजेन्द्र पुन फ्रेस बाइट्स ‘म्यान अफ द म्याच’ घोषित भए ।

सेमिफाइनलमा कास्कीको भेट टाइम्ससंग हुने छ । अर्को सेमिफाइनल रोयल र गोल्डेनगेटबीच हुने छ । दुवै सेमिफाइनल सोमबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्