
१८ फागुन २०७६, काठमाडौं
सुरक्षित समाज र दिगो शान्ति निमार्ण गर्न, अपराधको प्रकृती र त्यसको नियन्त्रणको लागि स्थानिय नागरिकहरूले दिएको सुझाव अनुसार काठमाडौं उपत्यकामा सुरक्षा योजना लागु गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताएका छन् ।
महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठ र सामुदायिक प्रहरी सेवा केन्द्र बुढानिलकण्ठको आयोजनामा आईतबार महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठको सभाहलमा आयोजना गरेको “शान्ति सुरक्षामा स्थानिय प्रहरीको भूमिका विषयक छलफल कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ दिदै उनले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै पोखरेलले भुतपूर्व प्रहरी अधिकृतहरू, स्थानिय जनप्रतिनिधि र स्थानिय बासिन्दाहरुको महत्वपूर्ण सल्लाह सुझावहरूलाई आत्मसाथ गर्दै अगाडी बढ्ने बताए । समय सापेक्ष संगठनको आन्तरिक तथा बाह्य सुधारका प्रयाशहरु गरेको बताउँदै त्यसैको पहिलो कडी प्रहरी मेश सुधार अभियान चलाईएको जानकारी गराए । समाज बिकासका लागि आधरभुत तत्व सुरक्षा हो । प्रहरीको बोलीचाली र व्यवहारहरू क्रमश सुधार भईरहेको छ । यस्ता किसिमका छलफल कार्यक्रमहरुले नागरिक र प्रहरी विच सकारात्मक भावाना वृद्धि हुने उनको ठम्याई छ ।
कार्यक्रममा बूढानिलकण्ठ नगरपालिकाका मेयर उद्वव प्रसाद खरेलले प्रहरीलाई सहयोग गर्न तयार छौं तर नितिगत समस्याका कारणले सोचे जस्तो सहयोग गर्न कठिनाई भैईरहेको र आवश्यक कानुनहरु निमार्ण गरी सहयोग गर्ने प्रतिवद्ववता गर्दै यस्ता कार्यक्रमहरु समयसमयमा गरिनुपर्ने कुरा ब्यक्त गरे ।
कार्यक्रममा पूर्व प्रहरी अतिरीक्त महानिरीक्षक जय बहादुर चन्दले प्रहरीको गरिमा बस्ती र गस्तीमा हुनुपर्ने बताउदै जनतासँग नियमित रुपमा सम्पर्क रहनुपर्ने बताए । पूर्व प्रहरी अतिरीक्त महानिरीक्षक नवराज ढकालले नागरिकले देख्ने र प्रशंसा हुने गरी प्रहरीले काम गर्नुपर्ने समुदायका लागि प्रहरी सुरक्षा बार्षिक क्यालेन्डर अनुसार काम गर्नु पर्ने बताए । त्यसैगरी भुतपुर्व प्रहरी संगठनका अध्यक्ष एंव पूर्व प्रहरी वरिष्ठ उपरीक्षक बसन्त राज कुँवरले स्थानिय निकायमा शान्ति सुरक्षाको जिम्मा मेयर वा प्रहरी प्रमुखले यस बिषयमा गहन छलफल गर्नुपर्ने बताए ।
कार्यक्रममा बूढानिलकण्ठ नगरपालिका विभिन्न वडाका, वडा अध्यक्षहरू, पूर्व वरिष्ठ अधिकृत र स्थानिय बासिन्दाहरूले आ–आफ्ना अमूल्य सुझाव दिएका थिए ।





