इरानमा कोरोना : सांसदसहित २१० को मृत्यु, स्वास्थ्यमन्त्री पनि संक्रमित



१७ फागुन २०७६, काठमाडौं

कोरोना भाइरस (कोभिड १९) का कारण इरानमा एक सांसदको मृत्यु भएको छ।

सांसद मोहम्मद अली रमजानी दस्तकको शनिबार (आज) कोरोनाका कारण मृत्यु भएको त्यहाँका अधिकारीहले जानकारी दिएका छन्।

यस्तै स्वास्थ्यमन्त्री इराज हरिरची पनि कोरोना संक्रमित भएको बताइएको छ।

दर्जनौं नेताहरु पनि कोरोना भाइरसको संक्रमणमा परेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

कोरोना भाइरसको संक्रमणबाट इरानमा कम्तीमा २१० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

अधिकांश पीडितहरू राजधानी तेहरानका र शुरूमा भाइरस देखिएको कुम शहरका रहेका बताइएको छ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सङ्ख्या भन्दा यो ६ गुणा बढी भएको बताइएको छ।

शुक्रबार सरकारी अधिकारीहरुले कोरोना भाइरसबाट ३४ जनाको मृत्यु भएको जानकारी दिएका थिए।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्