
१६ फागुन २०७६, देवचुली/दिपक शर्मा
महिनावारी अर्थात रजस्वाला हुनु भनेको प्राकृतिक प्रकृया भएता पनि यसको बारेमा अझै पनि हाम्रो समाजमा अन्धविश्वास व्याप्त रहेको छ । यिनै महिनावारी अर्थात रजस्वाला हुँदा गर्नुपर्ने सरसफाई तथा यसको प्रकृयाको बारेमा भने देवचुलीका किशोरीहरुले विद्यालय तथा समुदायमा विभिन्न तालिमहरु सञ्चालन गर्दै आएका छन् ।

यसै क्रममा देवचुली नगरपालिका वडा नं. १७ मा रहेको वरचुली माध्यमिक विद्यालयका बालबालिकाहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको कुरा किशोरी अभियन्ता निरुता खत्रीले बताईन् ।

कक्षा ८ मा अध्ययनरत बालक तथा बालिकाहरु गरी ४० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा महिनावारी भनेको के हो ? यसको प्रकृयाहरु के के हुन ? महिनावारीको बारेमा हाम्रो समाजमा रहेको विश्वास र बास्तविकता के हो ? पुन ः प्रयोग योग्य सेनेटरी प्याडको महत्व के रहेको छ ? कसरी यसको प्रयोग गर्ने भन्ने बारेमा र प्याड निर्माणको बारेमा समेत किशोरी अभियन्ताहरुबाट प्रशिक्षण प्रदान गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका कार्यक्रम अधिकृत सविता पंगेनीले जानकारी गराईन् ।

कार्यक्रममा सहभागी विपिन गैरेले महिनावारीको बारेमा सबै बालकहरुले समेत थाहा पाउनुपर्ने र आफ्नो घरमा र विद्यालयमा रहेका किशोरीहरु र आमा दिदीबहीनीहरुलाई समेत सिकाउने कुरा तालिमको अन्त्यमा राखेका थिए ।

किशोरी साथीहरुलाई सहयोग गर्नुपर्ने अवस्थामा आजसम्म हाम्रो ध्यान नपुगेको र आजबाट हामीले थाहा पायौं र अवबाट हामीले यसको बारेमा सोध्ने र सहयोग गर्ने समेत प्रतिबद्धता अर्का बालक सहभागी आकाश डुम्रेले बताए ।

कार्यक्रममा महिनावारीको बेलामा पुनः प्रयोग योग्य सेनेटरी प्याडको तालिम समेत प्रदान गरिनुका साथै सो प्याड कपडाबाट निर्माण हुने जानकारी गराईएको थियो । प्याडको सरसफाईमा ध्यान दिन सकेमा स्वस्थ, कम खर्च हुने र समयको समेत बचत हुने कुरा बताईएको थियो ।
कार्यक्रममा किशोरी अभियन्ताहरु निरुता खत्री, प्रतिमा आचार्य, स्वस्तिका भण्डारीले सहजीकरण गरेका थिए ।





