‘केपी ओलीजी नमाने किरात प्रदेशको लागि आन्दोलन गरौं’



१७ फागुन २०७६, काठमाडौं

समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले पहिचान स्थापित गर्नकै लागि कम्युनिष्ट पार्टी त्यागेको बताएका छन्।

किरात राई यायोख्खा [किराया] ले प्रदेश नं. १ को नाम ‘किरात प्रदेश’ नामाकरण गर्नका लागि पहल गरिदिन माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले आफूले पहिचान स्थापित गर्नकै लागि कम्युनिष्ट पार्टी त्यागेको बताएका हुन्।

यायोख्खाका अध्यक्ष दिवस राईको नेतृत्वले समाजवादी पार्टी कार्यालय बालकुमारीमा बुझाएको ज्ञापन पत्र बुझेपछि अध्यक्ष भट्टराईले आफूले ‘किरात प्रदेश’ को लागि आवश्यक पहल गर्ने बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जसरी भएपनि कन्भिन्स् गर्ने बताए।

“तपाईँहरु आन्दोलनमै जानुस्। यस्ता कुराहरु आन्दोलनकै माध्यमबाट प्राप्त हुने हो।” अध्यक्ष भट्टराईलाई उदृत गर्दै यायोख्खाका उपाध्यक्ष जीवन हाताचोले भने, ‘म जहाँ बोलाउनुहुन्छ त्यही आउँछु। अन्तिममा नमान्ने भनेको केपी ओलीजी नै हो। उहाँलाई पनि कन्भिन्स् गरौंला। नमाने आन्दालेन नै गरौं।’

यस्तै अध्यक्ष भट्टराईले ‘किरात’ जातीयता नभएर नेपालकै ‘राष्ट्रियता’ भएको पनि बताए।

यायोख्खाले यसअघि पनि सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका उच्च अधिकारीहरुलाई प्रदेश नं. को नाम ‘किरात प्रदेश’ नामाकण गर्न आवश्यक पहल गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाइसकेको छ।

तस्वीर सौजन्य : यायोख्खाका केन्द्रीय अध्यक्ष दिवस राईको आधिकारिक फेसबूक।

प्रतिक्रिया दिनुहोस्