लोयल्टी कपमा एलएको ह्याट्रिक



१६ फागुन २०७६, काठमाडौं

लिटिल एन्जल्स (एलए) ले दसौं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।

एकताबस्तीस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन एलएले सिद्धार्थ बनस्थलीलाई ३–० ले पराजित गर्दै उपाधि रक्षा ग¥यो । एलएले उपाधि जितेको लगातार तेश्रो पटक हो । फाइनलको ‘म्यान अफ द म्याच’ एलएका तुसानमान सिंहले २ गोल गरे । बाँकी १ गोल प्रसुन तुलाधरले थपे । डिफेन्समा एलएका दिवस घर्ती मगर, मिडफिल्डमा सिद्धार्थ बनस्थलीका जेनिश रेग्मी, स्ट्राइकरमा एलएका प्रसुन तुलाधर, प्रशिक्षकमा एलएका राजेन्द्र कार्की र गोलरक्षकमा सिद्धार्थ बनस्थलीका अनिकेत तामाङ उत्कृष्ट चुनिए । टाइमलाइनले अनुशासित टिमको उपाधि हात पा¥यो ।

विजेतालाई केन्द्रीय प्याब्सनका उप–महासचिव आरबी कट्वाल, लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन ११ गतेदेखि सुरु नकआउट प्रतियोगितामा १२ टिम सहभागी थिए ।

मल्पीलाई काष्ठमण्डप कप
डिफेन्डिङ च्याम्पियन मल्पी पाँचौं काष्ठमण्डप कप ए लेभल अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेको छ ।

मण्डिखाटारस्थित आयोजक काष्ठमण्डपमा भएको फाइनलमा मल्पीले नामीलाई ७–६ ले पराजित ग¥यो । मल्पीका पविन राई र आर्यन शर्माले समान ३–३ तथा मनीष श्रेष्ठले १ अंक जोडे । मल्पी च्याम्पियन बनेको यो लगातार चौथोपल्ट हो । पहिलो संस्करणमा मल्पी सहभागी थिएन । विजेता र उपविजेता दुवै टोलीका प्रशिक्षक राष्ट्रिय बास्केटबल खेलाडी रोबिन खत्री हुन् ।

शुक्रबारै भएको सेमिफाइनलमा मल्पीले चेल्सीलाई १२–८ तथा नामीले र आयोजक काष्ठमण्डप ‘ए’ लाई २१–१९ ले हराउदै फाइनल भेट पक्का गरेका थिए । मल्पीका आर्यन शर्माले ८ तथा नामीका आङ फुर्वाले १८ स्कोर गरे । मल्पीका आर्यन शर्मा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई बास्केटबलका प्रमुख प्रशिक्षक दिनेशचन्द्र नकर्मी र काष्ठमण्डपकी संस्थापक निर्देशक एवं प्रिन्सिपल शिवा थापाले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

राष्ट्रिय उमा कुङफु सुरु
नेपाल उमा (WUMA) कुङफु संघको आयोजनामा पाँचौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता बसुन्धरास्थित ऋत एकेडेमीमा शुक्रबारदेखि सुरु भएको छ ।

प्रतियोगितामा विभिन्न १९ जिल्लाका २ सय १५ खेलाडीले विभिन्न ४५ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । यसै प्रतियोगिताबाट नेपालमा हुने एसियाली उमा कुङफु च्याम्पियनसिप, भारतमा हुने विश्व कुङफु च्याम्पियनसिप र ग्रिसमा हुने उमा विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोट गरिने छ । तीनै च्याम्पियनसिप सन् २०२० मा हुने छ । साथै यसै प्रतियोगिताको प्रदर्शनका आधारमा उत्कृष्ट २० खेलाडीको छनोट गरी चीनमा प्रशिक्षणका लागि पठाइने आयोजक संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले जनाएका छन् ।

पहिलो दिन यु–१४ पुरुष एकल प्याटर्नको बेयर ह्यान्डमा सोलुखुम्बुका प्रतीक राई पहिलो भए । उनले ८.९० अंक जोडे । ललितपुरका रिसभदेव खड्का (८.७० अंक) दोश्रो तथा रामेछापका मिङमा तामाङ र काठमाडौंका निर्भान कार्की तेश्रो भए । सोही स्पर्धाको वेपन्समा पनि प्रतीकले स्वर्ण जिते । ९.२० अंक जोडेका प्रतीकले रामेछापका मिङमा  (९ अंक) लाई पछि पारे ।

त्यस्तै १४ वर्षमाथि पुरुष एकल बेयर ह्यान्डमा मोरङका अश्विन चौधरी ९ अंकसहित शीर्ष स्थानमा रहे । रामेछापका सिवान सुनुवार दोश्रो तथा सिन्धुपाल्चोकका सन्तोष सिग्देल र दोलखाका सुरेन्द्र थापा मगर तेश्रो बने । उक्त उमेरसमूहको वेपनमा मोरङकै अश्विन ९.१० अंकसाथ पहिलो तथा सिन्धुपाल्चोकका प्रदीप तामाङ ८.९५ अंकसाथ दोश्रो भए ।

यु–१४ ग्रुप प्याटर्नको पुरुषमा उदयपुरका युसान राई, दोलखाका सुकदेव तामाङ र उदयपुरका सनम राईको टोली ८.७० अंकसाथ पहिलो भए ।

यु–१४ प्याटर्नअन्तर्गत महिला एकल बेयर ह्यान्डमा सोलुखुम्बुकी रेखा राईले स्वर्ण, उदयपुरकी पार्वती मगरले रजत तथा ललितपुरकी रिश्मासिंह शाह र काभ्रेकी प्रज्ञाश्री शाक्य तेश्रो भए । त्यसै स्पर्धाको वेपनमा खोताङकी मनकला राई पहिलो, सोलुखुम्बुकी रेखा राई दोश्रो तथा काठमाडौंकी साइना महर्जन र ओखल्ढुंगाकी सिर्जना बोगटी तेश्रो स्थानमा रहे ।

यु–३० ताइची महिला ग्रुप स्पर्धामा तनहुँका जमुना गुरुङ, नुवाकोटका अनुष्का तिवारी र प्रेमकुमारी तामाङ तथा काठमाडौंकी निकिशा पौडेल सम्मिलित टोलीले स्वर्ण चुम्यो ।

दुईदिने प्रतियोगिता सञ्चालन गर्न उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा, आईकेएफ, बेइजिङ अन्तर्गत नेपालका लागि महासचिव सन्जितकुमार राई तथा उमा कुङफुका सहायक मुख्य प्रशिक्षक उद्धव थापा मगरसहितको तीन सदस्यीय जज मण्डल गठन गरिएको छ । उमा कुङफु संघका सचिव रमेश महर्जनको संयोजकत्वमा ९ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।

ईन्जिनियर्स सम्मेलन दौड हुने
नेपाल इन्जिनियर्स एशोसिएसनको युथ एन्ड स्पोर्ट्स कमिटीले शनिवार इन्जिनियर्स सम्मेलन दौड गर्ने भएको छ । शनिवार विहान पुल्चोकस्थिति हरिहर भवनस्थित ईन्जिनियस भवनबाट ५ किलोमिटर दौड शुरु भई, नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्त्य हुने युथ एण्ड स्पोर्टस कमिटीका अध्यक्ष ई.प्रदिप कुमार खत्रीले बताए । सो दौडमा करिब ५ सय जनाको सहभागीता हुने खत्रीले बताएका छन् । नेपाल ईन्जिनियर्स एशोसिएसनको १६ औं राष्ट्रिय ईन्जिनियस सम्मेलनको पुर्वसन्ध्या हुन लागेको सो दौडको महिला र पुरुष विजेताले जनही १० हजार नगद पुरस्कार प्राप्त गर्ने युथ एन्ड स्पोर्टस कमिटीका सदस्य–सचिव ई अनिल मानन्धरले बताए । ‘महिला÷पुरुष दुवैको विजेताले समान १० हजार पुरस्कार प्राप्त गर्ने छन् । समृद्ध मुलुक निर्माणका लागि स्मार्ट भौतिक पुवार्धार भन्ने धारणालाई आत्मसाथ गराउन यो दौड गरिएको छ,’ उनले भने ।’

सो दौड प्रतियोगितामा दोस्रो हुनेले ७ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । तेस्रो हुने खेलाडीले ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । दौड हरिहरभवनबाट शुरु भई, कुपन्डोल, बागमति पुल, थापाथली, माइतीघर, शहिदगेट, जमल हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न हुने छ ।

२१ फागुनमा विश्व इन्जिनियरिङ दिवसका अवसरमा प्रज्ञाप्रतिष्ठान कमलादीमा १६ औं राष्ट्रिय ईन्जिनियर सम्मेलन हुन गइरहेकाले खेलकुदलाई समेत समावेश गर्ने उद्देश्यले दौड गरिएको अध्यक्ष प्रा.डा. त्रिरत्न बज्राचार्यले बताए ।  सो सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्