कोरोना भाइरस ५० देशमा फैलियोः डब्ल्यूएचओ



१६ फागुन २०७६, काठमाडौं

कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण ५० देशमा फैलिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ।

विभिन्न देशमा कोरोना भाइरस पुष्टि भएका ३६ हजार ६ सय ३३ जना उपचारपश्चात् घर फर्किएका छन्।

चीनमा मात्रै ३६ हजार एक सय ३६ जना उपचारपश्चात् घर फर्किएका छन् भने अहिलेसम्म दुई हजार ८ सय ३२ जनाको ज्यान गएको छ। यस्तै ७९ हजार एक सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको छ।

चीनपश्चात् इरानमा सबैभन्दा धेरै २६ जनाको ज्यान गएको छ। कोरोना भाइरस फैलिएपश्चात् जापान र इराकले सबै स्कुल बन्द गर्न निर्देशन दिएका छन्। साउदी अरबले विदेशी तीर्थयात्रीलाई प्रवेशमा रोक लगाएको छ भने इरानले आफ्ना नागरिकलाई अनावश्यक घुमफिर नगर्न अपिल गरेको छ।

यस्तै, अस्ट्रेलियाले कोरोना भाइरसको उद्गम स्थल चीनबाट पुग्ने पर्यटकलाई आवागमनमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ।

इटालीमा पनि १७ जनाको ज्यान गएको छ र ११ शहरका नागरिकलाई क्वारेन्टाइनमा राखेको छ भने ग्रीसले रोमन क्याथलिक धर्म मान्नेहरुको उत्सव कारनिभलमा गरिने गतिविधि स्थगित गरेको बीबीसीले जनाएको छ।

यसैबीच उप सहरा अफ्रिकी देशमा पनि कोरोनाको पहिलो सङ्क्रमित भेटिएको छ। नाइजेरियामा कोरोना सङ्क्रमित भेटिएको समाचार संस्था एएफपीले पुष्टि गरेको छ।

कोरोना भाइरसको सङ्क्रमण सुरु भएको चीनमा सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या घटिरहेका बेला चीनबाहिर सङ्क्रमण बढ्नु चिन्ताजनक भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

सङ्गठनका महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले चीनबाहिर फैलिएको सङ्क्रमण चिन्ताको विषय भएको बताएका हुन्। अब विश्वका कुनै पनि देशले आफ्नो देशमा कोरोना भाइरस पस्न नसक्ने भनेर बस्न नमिल्ने उनको भनाइ छ।

इरान, इटली र दक्षिण कोरियामा देखिएको प्रकोपले भाइरस अझ खतरनाक भएको देखाएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्