मुख्यमन्त्री राईविरुद्ध मुद्दा : बालिकाद्वारा पति दावी गर्दै ‘अंश’ माग



१६ फागुन २०७६, काठमाडौं

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

दोलखाकी बालिका खड्का {राई}ले मुख्यमन्त्री राईविरुद्ध मुद्दा दायर गरेकी हुन्। बालिकाले मुख्यमन्त्री राईले आफूमाथि घरेलु हिंसा, शारीरिक यातना र यौन दुर्व्यवहारको प्रयास गरेको भन्दै शुक्रबार (आज) मुद्दा दायर गरेकी हुन्।

यस्तै बालिकाले आरोप पत्रमा मुख्यमन्त्री राई आफ्नो पति भएको दावी गर्दै अंशसमेत माग गरेकी छिन्। बालिकाले मुख्यमन्त्री राईलाई विसं २०७१ सालदेखि चिनेको बताएकी छिन्।

त्यो बेला राई नेकपा एमालेका वैकल्पिक पोलिटब्यूरो सदस्य थिए भने, बालिका युवा संघ नेपालको केन्द्रीय सदस्य र महिला युथ फोर्सकी केन्द्रीय सचिव थिइन्।

“मुलुकी देवानी संहिता, २०७४ को दफा ६७ अनुसार विपक्षी पति र मबीच एक अर्कालाई पति–पत्नीको रूपमा स्वीकार गरी विवाह भएको हुँदा ऐ. संहिताको दफा २०५, २०६, २०९, २११, २१२, २१३ समेतका आधारमा प्रस्तुत फिराद गर्न आएकी छु।” आरोप पत्रमा उल्लेख गरिएको छ, ‘अंशबण्डा गर्ने सम्पत्तिको फाँटवारी देखाई फिराद गर्नुपर्नेमा विपक्षी जिम्माको सम्पत्ति मलाई हाल जानकारी नभएको र मसँग बण्डा गर्ने कुनै पनि सम्पत्ति नभएको हुँदा संहिताको दफा २२१, २२२, २२३, २२४, २२५ समेतका आधारमा बण्डा गर्ने सम्पत्तिको तायदाती फाँटवारी माग गरी फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिती कायम गरी जम्मा सम्पत्तिलाई २ भाग गरी १ भाग अंश दिलाइ चलन चलाई पाऊँ।’

बालिकाले मुख्यमन्त्री राईसँग ‘लिभिङ टुगेदर’ गरी बसेको जिकिर गरेकी छिन्। राईले विद्यादेवी भण्डारी पहिलो पटक राष्ट्रपति नियुक्त भएको दिन बेलुका रात्रिभोजमा आफूमाथि मदिराको जोशमा यौन दुर्व्यवहार गर्न कोसिस गरेको आरोप बालिकाले लगाएकी छन्।

उक्त घटनापछि राईले आफूलाई ‘हामी लोग्ने स्वास्नी हौं’ भनी फकाएकोसमेत उनले आरोप पत्रमा उल्लेख गरेकी छिन्। राई सूचना तथा सञ्चारमन्त्री हुँदा आफू तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निजी स्वकीय अधिकृतको रूपमा काम गरेको उनले जनाएकी छिन्।

त्यतिबेला राई र आफूबीच शारीरिक सम्पर्क कायम भएको उनले स्वीकारेकी छिन्। तर विवाह दर्ता गर्न राईले नमानेको आरोप उनको छ। यस्तै बालिकाले राईले आफूलाई विसं २०७२ सालदेखि २०७४ सम्म काठमाडौं बूढानीलकण्ठ नगरपालिका गोल्फुटारमा डेरामा राखेको उनले खुलाएकी छिन्।

विवाहको लागि पटक–पटक आग्रह गरेपछि राईले आफूलाई विसं २०७५ कात्तिक महिनादेखि उक्त डेराबाट निकाला गरिएको बालिकाले जनाएकी छिन्। राई मुख्यमन्त्री भएपछि आफू पनि विराटनगर आउने जाने गरेको बालिकाको दावी छ।

त्यहाँ पनि प्रहरीलाई भन्न लगाइ भित्र छिर्न नदिएको बालिकाको आरोप छ। त्यसपछि आफूलाई जागिर र पार्टीको जिम्मेवारीबाट पनि निकालिएको बालिकाले दावी गरेकी छिन्।

आफूमाथि अन्याय भएको भन्दै पार्टीको दुवै अध्यक्षलाई भेट्न खोज्दा दुवै अध्यक्षले भेट्न नमानेको उनले जनाएकी छिन्। त्यसपछि आफूलाई झुटा आरोपमा प्रहरीलाई पक्राउ गरी कमलपोखरीमा थुनामा राखिएको र थुनामा जबर्जस्ती ‘शेरधन राई पति हो भन्दिनँ भन’ भनी दबाब दिएकोसमेत उनले खोलेकी छन्।

राईले पार्टीको सदस्यतासमेत निलम्बन गराइ आफूमाथि घरेलु हिंसा, शारीरिक तथा मानसिक यातनासमेत दिएको हुँदा बाध्य भई अदालतमा मुद्दा दायर गर्नुपरेको उनले जनाएकी छन्।

बालिकाले दर्ता गरेको मुद्दाको पेशी आउँदो १७ चैत्रको लागि तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्