ओलीलाई सचिवालय सदस्यहरूको सन्देश : ‘कि पार्टी निर्णय मान्नुस्, कि छोड्नुस्!’



१६ फागुन २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा संगठन विभाग प्रमुखसमेत रहेका वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टीको निर्णय कार्यान्वयन नगरे प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापन गर्ने निष्कर्षमा सचिवालय सदस्यहरू पुगेको खुलासा भएको छ।

उच्च स्रोतबाट प्राप्त सूचना अनुसार सचिवालय सदस्यहरूले प्रधानमन्त्री ओलीलाई स्पष्ट भाषामा दुई सन्देश पठाएका हुन्, ‘या त पार्टीको निर्णय मान्नुस्, या पार्टीलाई निर्णय कार्यान्वयन गर्न मार्ग प्रशस्त गर्नुस्।’

गत बुधबार बसेको पार्टी सचिवालय बैठकले राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्यका लागि उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गर्न सरकारलाई अनुरोध गर्ने सर्वसम्मत निर्णय गरेको थियो।

उक्त निर्णयमा प्रधानमन्त्री ओलीले समेत सहमति जनाएका थिए। तर, निर्णय भएको एक घण्टाभित्रै ओलीले पार्टीका शीर्ष नेताहरूलाई फोन गरेर वामदेवको नाम सिफारिस गर्न नसकने बताएका थिए। उनले वामदेवको सट्टामा हालका अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने बताएका थिए।

त्यसयता पार्टी र प्रधानमन्त्रीबीचको विवाद उत्कर्षमा पुगेको छ। ओलीबाहेक सचिवालय सदस्य पार्टीको निर्णयमा अडिग छन् भने ओलीले खतिवडाका पक्षमा अडान छाडेका छैनन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्