मदन भण्डारी सम्झदै प्रचण्डले भने, ‘नेकपा सुदृढ छ : जनताको चाहना पुरा गरेरै छोड्छ’



१५ फागुन २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी बागमती प्रदेश संगठन कमिटीले ‘प्रदेश स्तरीय प्रशिक्षण तथा  भेला’ गर्दै पार्टी एकता सुदृढीकरण र समृद्धिका लागि राष्ट्रिय अभियानको थालनी गरेको छ ।

‘समृद्ध नेपाल, सुखी नेपालीको आधार–सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार’ भन्ने मूल अभियानका साथ यलम्बर पार्टी प्यालेस, काठमाडौंमा आयोजित भेलामा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजधानी प्रदेश, आर्थिक केन्द्र, अन्तर्राष्ट्रिय सम्बन्ध र पार्टी हेडक्वार्टर समेत भएको प्रदेश भएकोले बागमती प्रदेशमा हुने एकता सुदृढीकरण र समृद्धिका लागि राष्ट्रिय अभियान राम्रो वा नराम्रो जे भएपनि अरु प्रदेशमा पर्ने भन्दै विशेष तयारीका साथ अघि बढ्न शुभकामना दिएका थिए ।’

जनताको बहुदलीय जनवादका प्रणेता कमरेड मदन भण्डारीले र जीवराज आश्रितको स्मृति दिवसको दिन पारेर पार्टी एकता भएको स्मरण गर्दै पहिलो बैठक उत्सव जस्तो थियो । हामी पनि उत्साहित भएर तीन महिना भित्र पार्टी एकताको काम सक्ने बतायौं तर एकतामा सबैका भावना र सबैलाई समेट्दा समय लागेको समेत उनले बताए ।

विधान अनुरुप केन्द्रिय कमिटीको बैठक प्रत्येक ६ महिनामा बस्नुपर्ने भएपनि एकतामा संक्रमणकाल रहेकोले २० महिना पछि बस्नुपर्‍यो । दोस्रो पूर्ण बैठक भएपनि पहिलो बैठक जस्तो भयो पाँच दिनमै सक्ने योजना अनुसार सकियो । केन्द्रिय कमिटीमा सबैले आफ्नो धारणा राख्ने अवसर पाए । बैठकपछि सबै केन्द्रिय सदस्यको अनुहार उज्यालो बनेर सकियो । केन्द्र्रिय कमिटीको बैठकबाट प्रदेश र मातहतका कमिटीहरुले पनि सिक्नुपर्ने प्रचण्डको बुझाई रहेको छ ।

पार्टी भनेको मूलभूत रुपमा विचार र विधिको एकता नै भएको बताउँदै चिनियाँ कम्युनिष्ट पार्टीका ९ करोड भन्दा बढी पार्टी सदस्यले १६० करोड भन्दा बढी चिनियाँ जनताको नेतृत्व गर्न चिनियाँ कम्युनिष्ट पार्टी सफल रहेको अनुभव सुनाउँदै नेपाल कम्युनिष्ट पार्टीले नीति कार्यक्रम र पद्धति बुझेर सोही अनुरुप चल्न निर्देशन दिए ।

पार्टीका केन्द्रिय नेताहरु आत्म केन्द्रित भएको भए पार्टी एकता सम्भव नहुने बताउँदै दुवै पार्टीले विकासक्रममा एक दशक लामो सशस्त्र संघर्षको बाटो अवलम्बन गरेको स्मरण समेत गराए ।

नेपालमा अरु पनि कम्युनिष्ट पार्टी भएपनि आत्म केन्द्रित नेताको कारणले एकता हुन नसकेको बताउँदै बिचार, विधि, नेतृत्वको परिस्थिति विश्लेषण गर्ने क्षमताकै कारण नेपालको राजनीतिक मानचित्र बदलिएको दावी गरे ।

पार्टीभित्र देखिएका विवादबारे प्रचण्डले भने, ‘शान्त, पद्धतिगत र सबै नेताहरु एकमुख हुने बेला कम्युनिष्ट पार्टी नै नचाहिने बताउँदै त्यो साम्यवादको अन्तिम रुपमा मात्र सम्भव हुने तर्क राख्दै पार्टीका सामान्य विवादहरुले ऐतिहासिक जिम्मेवारी लिएको कम्युनिष्ट पार्टीले विचलित र विभाजन नहुने प्रष्ट पारे ।’

२०१९ सालबाट कम्युनिष्ट पार्टीमा विभाजनको श्रृंखला सुरु भएको बताउँदै त्यो बेला अन्तर्राष्ट्रिय रुपमा चीन र रुसको प्रभावको साथै राष्ट्रिय रुपमा तत्कालिन शासन व्यवस्थाको प्रभाव रहेको स्मरण गराए ।

स्वर्गीय नेता मदन भण्डारी र आफू २०२८ सालमा तत्कालिन पुष्पलाल समूहले नेतृत्व गरेको पार्टीमा रहेको र २०३३ सालमा दुवैले पार्टी छोडी फरक–फरक कम्युनिष्ट पार्टीमा लागेको स्मरण गराए ।

२०४६ सालको जनआन्दोलनपूर्व आफू नेकपा मशालको सचिव र मदन भण्डारी नेकपा मालेको महासचिव चुनिएको संयोग बताउँदै यदि २०५० सालमा मदन  भण्डारी हत्या नभएको भए सायद त्यतिबैले पार्टी एकताको प्रक्रिया अघि बढ्ने समेत बताए ।

दुई नेता र पार्टीका दुई अध्यक्षबिचको सामान्य छलफलले पार्टी एकता नभएको बताउँदै युद्ध र आन्दोलनको बेलामा समेत हामी बिचमा एकताको बारेमा पटकौं अन्तरक्रिया र छलफल भएको थियो ।

सात राजनीतिक दल बिच भएको शान्ति सम्झौताको खाका तत्कालिन नेकपा एमाले र माओवादी बिच छलफल भएरै भएको बताउँदै त्यसबेला नेकपा एमालेका महासचिव माधव कुमार नेपालसँग पार्टी एकता गरौं भन्दा वहाँले आफू ७० प्रतिशत लिने र हामीलाई ३० प्रतिशत मात्र दिने भएपछि त्यो बेला एकताको प्रयास टरेको बताए ।

शान्ति प्रक्रियापछि भएको निर्वाचनमा तत्कालिन नेकपा एमालेमा निकै उन्माद चढेको थियो । आफ्नो पार्टीले निकै राम्रो मत ल्याउने दावी गरेकाले हामीसँग एकता सम्भव भएन । त्यो बेला एमाले २९ सिट ल्याएर कमजोर बन्यो । हामीमा नसोचेको परिणामले आवश्यकता भन्दा बढी उन्मादी ल्यायो । प्रधानमन्त्री, राष्ट्रपति मात्र होइन सेना प्रमुख समेत हटाएर सिङ्गो सत्ता नै कब्जा गर्ने उन्माद बढ्यो । पछिल्लो निर्वाचनमा हामी खुम्चिएर २३ सिटमा झर्यौं ।

आज बनेको नेकपा दुबै पार्टी बिचको समान नीति मात्र होइन, राष्ट्रिय आवश्यकताको कारण एकीकरण भएको हो । हामी बिचको दशकौं लामो एकता र विभाजनको अनुभवले अहिले पार्टी एकीकृत भएको छ । सानोतिनो हल्ला र विवादले पार्टी एकताको काम पछि नपर्ने बताउँदै मिडियाको पछि लागेर धारणा नबनाउन कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्