प्रधानमन्त्रीले भने, ‘टेप बाँस्कोटाकै हो भन्ने प्रमाण छैन’



१५ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बचाऊ गर्दै सार्वजनिक भएको टेप बाँस्कोटाकै हो भन्ने प्रमाण नभएको बताएका छन्।

बिहीबार (आज) काठमाडौंमा आयोजित वागमती प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कमिसन प्रकरणमा बाँस्कोटालाई लागेको आरोप प्रमाणित भइनसकेको बताउँदै उक्त टेप बाँस्कोटाकै हो भन्ने प्रमाण नभएको बताएका हुन्।

प्रधानमन्त्री ओलीले आफू र बाँस्कोटाविरुद्ध अख्तियारमा परेको उजुरीलाई पनि ‘पत्रु’ को संज्ञा दिए। “अहिलेसम्म टेप प्रकरण प्रमाणित छैन। बाँस्कोटाले होइन भनिरहनुभएको छ। स्वीस राजदूतावासले फ्रड हो भन्यो। आफ्नो नाममा बात लागेकाले राजीनामा दिनुभयो।” ओलीले भने, ‘आरोप पुष्टि भएको छैन। काम नलाग्ने पत्रु उजुरीको के काम। त्यो भ्रष्ट उजुरी हो।’

उनले आफूले बाँस्कोटाको बचाउ नगरेको दावी गर्दै अनुसन्धानपछि दोषी पाए कारबाही हुने बताए।

प्रतिक्रिया दिनुहोस्