नेपाली सेना ‘भूतपूर्व सैनिक सम्मेलन–२०७६’ सम्पन्न



१५ फागुन २०७६, काठमाडौं

भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागितामा श्री नं.२२ बाहिनी अड्डा रामनगर व्यारेक, रुपन्देही जिल्लामा सञ्चालन गरिएको नेपाली सेना ‘भूतपूर्व सैनिक सम्मेलन–२०७६’ विशेष समारोहकाबीच प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले अवकाश प्राप्त सैनिक व्यक्तिहरुको अवकाश पछिको जीवनमा थप उर्जा ल्याउनको लागि आपसमा भेटघाट गर्ने, आफ्ना सुख दुःखको अनुभवहरु साट्ने, एक आपसमा सामिप्यताको भावना जागृत गराउने, नेपाली सेनाद्वारा संचालित विविध कल्याणकारी कार्यहरुको जानकारी गराई समायानुकुल सुधारको लागी थप राय सुझावहरु संकलन गर्ने उद्देश्यका साथ उक्त सम्मेलनको आयोजना गरिएको जानकारी गराए । उनले अवकास प्राप्त सैनिक व्यक्तिहरुले विगतमा पुर्‍याएको सेवा र समर्पणको यथोचित सम्मान गर्दै सामाजिक आर्थिक स्तर उकास्दै लैजानेतर्फ नेपाली सेनाले ध्यान केन्द्रित गरेको बताए । कल्याणकारी कोषको दीगोपन, मितव्ययी र पारदर्शी प्रयोग, हिताधिकारीहरुको असीमित चाहना र आकांक्षाहरुको दीर्घकालीन सोच सहित समुचित व्यवस्थापन गर्नको लागि कल्याणकारी सोच २०३० तयार गरी चार ‘स’ स्वास्थ्य, शिक्षा, सीप र स्वःरोजगार तथा सुविधा र सहुलियतको अवधारणा अनुरुप कल्याणकारी कार्यक्रमहरु कार्यान्वयन गर्नेतर्फ नेपाली सेनाको ध्यान केन्द्रीत रहेको बताए ।

‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार–आत्म सम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नाराका साथ शुरु भएको उक्त सम्मेलनमा नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, र पाल्पा जिल्लामा बसोबास गर्ने नेपाली सेनाका भूतपूर्व सैनिकहरु तथा परिवारजनहरुको सहभागीता रहेको थियो । सम्मेलनकै क्रममा विभिन्न युनिटहरुले स्थान विशेषको झाँकी, खुकुरी, नृत्य, तेक्वान्दो तथा मास, पि.टी. प्रदर्शन गर्नुका साथै भूतपूर्व सैनिकहरु तथा महिलाहरुले प्ले कार्डसहित मार्चपास प्रदर्शन गरेका थिए ।

कार्यक्रम पश्चात प्रधानसेनापति थापाले सम्मेलनमा सहभागीहरुसँग भेटघाट गर्नुका साथै जिल्ला, प्रदेश तथा एकल महिलाको प्रतिनिधित्व हुने गरी सम्मलेनका सहभागीहरुसँग सामुहिक छलफल तथा अन्तरक्रिया समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्