अर्गानिक उत्पादनमा जोड दिन आवश्यक छ : उपप्रमुख राई



१२ फागुन २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका उपप्रमुख रमादेवी राईले कृषि क्षेत्रमा लाग्ने कृषकलाई अर्गानिक उत्पादनमा जोड दिन आवश्यक रहेको बताएकी छन् ।

बूढानीलकण्ठ नगरपालिका पशु सेवा शाखाको काउम्याट वितरण कार्यक्रमको सम्बोधन गर्दै उपप्रमुख राईले कृषिलाई प्रोत्साहन गर्दै उत्प्रेरणा जगाउने उदेश्यले यस किसिमको कार्यक्रम गरिएको बताईन् । उनले भनिन्, ‘बूढानीलकण्ठ नगरलाई अर्गानिक कृषिको नगर भनेर चिनाउन आवश्यक छ, त्यसमा कृषकको भूमिका महत्वपूर्ण रहन्छ ।’ दुग्धजन्य पदार्थमा बूढानीलकण्ठ नगरलाई आत्मनिर्भर गर्न समेत आग्रह गरिन् ।

उपप्रमुख रमादेवी राईले कृषकलाई दीर्घकालिन रुपमा व्यवसाय गर्न अनुरोध गर्दै कृषि फार्मलाई उत्साहित गर्न काउम्याट वितरण गरिएको र यो एउटा उदाहरणिय काम भएको समेत बताईन् ।

बूढानीलकण्ठ आर्थीक विकास समिति संयोजक तथा कार्यक्रमकी सभापति दुर्गा थापाले काउम्याट वितरण गर्दै कार्यक्रममा लगाईएको कृषकले उत्पादन गरेको टमाटरको माला तथा मायाको चिनो काउली र हरियो रायोको साग पाउदा आफुलाई कृषि प्रति आकर्षित भएको बताईन् । उनले काउम्याट ओछ्याउदा गाईलाई सुरक्षित रहन र चिसोबाट बच्न सहयोग पुग्ने धारणा समेत व्यक्त गरिन् ।

पशु चिकित्सक काजी बहादुर श्रेष्ठले नगर भित्रका १८ व्यवसायिक फार्मलाई २ वटाको दरले काउम्याट वितरण गरिएको जानकारी गराएका छन् । पशु चिकित्सक श्रेष्ठले काउम्याटबारे जानकारी दिदैं गाई थुनेलो हुनबाट बच्ने, गाईको घुडामा सुन्निने तथा घाउहुनबाट बच्ने, समयको बचत हुने जानकारी गराए ।

कार्यक्रममा कृषिप्रति आकर्षित गराउन कृषकहरुले आफैले उत्पादन गरेको टमाटर र सिँबीको माला तथा मायाको चिनो काउली, मुला र रायोको साग वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्