‘एउटा व्यक्तिका लागि संविधान संशोधन हुँदैन’



१२ फागुन २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले एक व्यक्तिका लागि संविधान संशोधन नहुने बताएका छन्।

सोमबार (आज) पत्रकारहरुसँग कुराकानी गर्दै उपनेता नेम्वाङले नेकपा उपाध्यक्ष बामदेव गौतमकै लागि संविधान संशोधन गर्न लागिएको सन्दर्भमा एक व्यक्तिका लागि संविधान संशोधन गर्न नमिल्ने बताएका हुन्।

नेकपा सचिवालय बैठकले संविधान संशोधन गर्न कार्यदल बनाएको आफूले सञ्चारमाध्यमबाटै थाहा पाएको बताउँदै उपनेता नेम्वाङले एक व्यक्तिका लागि संविधान संशोधन गर्न नहुने प्रतिक्रिया दिएका हुन्।

“यसमा अलिकति पनि यताउती छैन। पार्टीबाट कसैले जानकारी गराएको छैन। कार्यदल बनेकोमा मलाई विश्वास पनि छैन।” उपनेता नेम्वाङले भने, ‘सचिवालयमा हुन चाहिँ कुरा भएको रहेछ। तर, औपचारिक रुपमा यस्तो भएको भन्ने मलाई कुनै विश्वास छैन।’

यस्तै उनले उक्त कार्यदलकै विषयमा सोमबार नै वरिष्ठ नेता माधवकुमार नेपालसँग कुराकानी भएको बताउँदै संविधान संशोधन सिङ्गो देशको लागि हुनुपर्ने बताए।

“सिङ्गो देश र जनताले बुझ्ने गरी संविधान संशोधन हुनुपर्छ।” उपनेता नेम्वाङले भने, ‘संविधान संशोधनको कुरा कसैको हितमा छैन। माधव कमरेडलाई प्रक्रिया यो होइन होला भनेर भन्यौं। उहाँले हाँसेर टाउको हल्लाउनुभयो।’

यस्तै उपनेता नेम्वाङले आफूहरुको आशय पार्टीमा लैजाने वरिष्ठ नेता नेपालले प्रतिक्रिाय दिएको बताए।

प्रतिक्रिया दिनुहोस्