काष्ठमण्डप क्वाटरफाइनलमा : रोयलको विजयी सुरुवात



१२ फागुन २०७६, काठमाडौं

काष्ठमण्डप दशौं लोयल्टी कप अन्तरविद्यालय जुनियर फुटबल प्रतियोगिताको सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

काष्ठमण्डपले युनाइटेडलाई १०–१ को फराकिलो गोलअन्तरले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको हो । काष्ठमण्डपका रिवाज गुरुङले शानदार प्रदर्शन गर्दै ८ गोल गरे । बाँकी दुई गोल प्रभात लिम्बूले थपे । युनाइटेडका प्रनन् थिङले सान्त्वना गोल फर्काए । युनाइटेडकै प्रयत्न थापा ‘म्यान अफ द म्याच’ घोषित भए ।

लोयल्टी एकेडेमीद्वारा आयोजित प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स (एलए) र टीआईए पनि क्वाटरफाइनलमा पुगेका छन् ।

एलएले विद्या संस्कारलाई ५–० गोलले हरायो । एलएका दिवस घर्ती मगर र आयुश ऐरले समान २ तथा प्रनन् तुलाधरले १ गोल गरे । विद्या संस्कारका शुलभ कार्की ‘म्यान अफ द म्याच’ चुनिए । टीआईएले आयोजक लोयल्टी ‘ए’ लाई ४–१ गोलले पाखा लगायो । टीआईएका किजय भण्डारीले २ तथा सक्षम डंगोल र प्रभात गोदारले १–१ गोल गरे । लोयल्टी ‘ए’ का अर्विन्द सुवेदी ‘म्यान अफ द म्याच’ बने ।

प्रतियोगिता अन्तर्गत शुक्रबार हिमालयन र आयोजक लोयल्टी ‘बी’ तथा टाइमलाइन र शिशु मिलनबीच खेल हुनेछन् ।

रोयलको विजयी सुरुवात
आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलले प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा सोमबार विजयी सुरुवात गरेको छ ।

ललितपुरको साना गाउँस्थित आयोजक रोयलको कोर्टमा रोयलले बापेकलाई ७१–६१ ले पराजित गर्‍यो । रोयलका निश्चल महर्जनले २२ स्कोर गरे । निश्चल नै ‘म्यान अफ द म्याच’ बने । त्यसवापत निश्चलले फ्रेस बाइट्सबाट गिफ्ट भौचर प्राप्त गरे ।

पहिलो क्वाटरमा १८–१४ को अग्रता लिएको रोयल दोश्रोमा २०–२४ ले पछि प र्‍योे । रोयलले तेश्रोमा १९–१२ र चौथोमा १४–११ को अग्रता लिएको थियो ।

प्रतियोगिताको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले संयुक्त उद्घाटन गरे ।

विजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगद प्रदान गरिनेछ । प्रतियोगितामा १० टिम सहभागी छन् । सहभागी टिमहरुमा आयोजक रोयल सहित जेभियर इन्टरनेशनल, टाइम्स, हिमालयन ह्वाइटहाउस, साइपाल एकेडेमी, गोल्डेनगेट, बापेक, कास्की, बूढानीलकण्ठ र सोलो बास्केटबल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्