प्रदेश नंं. २ का अध्यक्ष शाहलाई नेकपाले सोध्यो स्पष्टीकरण



१२ फागुन २०७६, काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्य तथा प्रदेश नं. २ का पार्टी अध्यक्ष प्रभु शाहलाई स्पष्टीकरण सोधेको छ।

शनिबार बसेको नेकपा सचिवालय बैठकले शाहलाई स्पष्टीकरण सोध्ने निर्णय गरेअनुसार उनलाई स्पष्टीकरण सोधिएको हो।

शाहलाई पार्टीले स्पष्टीकरण सोधेको पत्र शाहलाई प्राप्त भएको उनीनिकट एक नेताले बताएका छन्। “पार्टी एकता प्रक्रिया अगाडि बढेको छ। यसबारे यहाँ अवगत नै हुनुहुन्छ। तपाईंले कमरेड माधवकुमार नेपाललाई अपमान हुने गरी सामाजिक सञ्जाल फेसबूकमा स्टाटस राख्नुभएको थियो। यसबारे १० फागुनमा बसेको सचिवालयको बैठकमा छलफल हुँदा तपाईँसँग स्पष्टीकरण माग्ने निर्णयबमोजिम पार्टीको अन्तरिम विधान, २०७५ को धारा ५६ अनुसार यहाँ तपाईंले स्पष्टीकरण बुझाउनुपर्नेछ।” पत्रमा उल्लेख गरिएको छ।
⇒ प्रभु शाह भन्छन्, बालुवाटार जग्गा प्रकरणमा मन्त्री दोषी, प्रधानमन्त्री निर्दोष? यो कहाँको न्याय हो?
“कार्यकारी सर्वाधिकार प्रधानमन्त्रीमा निहित रहेको प्रधानमन्त्रीय शासन प्रणालीमा सही वा गलत जुनसुकै कार्यको जिम्मेवारी स्वयं प्रधानमन्त्रीमा हुने कुरा स्पष्ट छ। तर, ललिता निवास जग्गा प्रकरणमा प्रस्तावक मन्त्री दोषी र निर्णयकर्ता प्रधानमन्त्री निर्दोष भन्ने अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णय हाँस्यास्पद छ। प्रस्तावक मात्र दोषी र निर्णयकर्ता निर्दोष, यो कहाँको न्याय हो?” शाहले गत २६ माघमा फेसबूकमा लेखेका स्टाटसमा भनिएको छ, ‘यदि संविधान र कानून यसको बाधक हो भने यस्तो व्यवस्था हामीलाई चाहिँदैन। हिजोको सामन्ती व्यवस्थामा राजा र राजपरिवारबाहेकलाई मात्र कानून लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद हो। सानालाई ऐन, ठूलालाई चयन कम्युनिष्ट सरकारका लागि सुहाउने विषय किमार्थ हुन सक्दैन। तसर्थः यस विषयमा सम्बन्धित सबैको ध्यान जान जरुरी छ।’

प्रतिक्रिया दिनुहोस्