संविधान संशोधन गर्न नेकपाले बनाएको कार्यदलमा नेम्वाङ र देवकोटा नबस्ने



१२ फागुन २०७६, काठमाडौं

संविधान संशोधनका लागि सत्तारुढ नेकपाद्वारा गठित कार्यदलमा बस्न स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटाले अस्वीकार गरेका छन्।

सोमबार (आज) बिहान सचिवालय सदस्य माधवकुमार नेपालले नेम्वाङ र देवकोटालाई छलफलका लागि बोलाएका थिए।

उक्त भेटमा दुवैले कार्यदलमा बस्न असहमति जनाएका हुन्। “संविधान संशोधन जस्तो कुरा जनतालाई थाहा दिएर गर्नुपर्ने कुरा हो। यो गोप्य राख्‍ने कुरै होइन। जनतालाई लुकाएर सूचना बाहिरियो भन्नु गलत हो।” नेम्वाङले भने, ‘संविधान संशोधन जस्तो गम्भीर विषयमा अपारदर्शी हुन मिल्दैन। त्यसमा मेरो सहमति छैन।’

यस्तै नेता देवकोटाले देशको शासकीय स्वरुप र निर्वाचन प्रणालीको बारेमा छलफलका लागि भनेर सचिवालय सदस्य नेपालको निवासमा गएको बताए।

“शासकीय स्वरुप र निर्वाचन प्रणालीको बारेमा छलफलका लागि भन्ने मनाशयले गएको थिएँ।” नेता देवकोटाले भने, ‘राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउनका लागि संविधान संशोधन गर्नुपर्ने विषय भएपछि मैले समर्थन जनाउन सकिनँ।’

यसअघि नेकपा सचिवालय बैठकले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधन गर्न वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्