कोरोना भाईरस संक्रमण मुक्त गर्नु मानवीय चुनौती हो : पूर्वमन्त्री पोखरेल



११  फागुन २०७६, काठमाडौं

नेपाल चीन हिमालय मैत्री समाज (निचिफ्स् नेपाल) र फाउन्डेशनले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य आनन्द पोखरेलले कोरोना भाईरस संक्रमण मुक्त गर्नु आजको मानवीय चुनौती भएको बताएका छन् ।

कोरोना विरुद्धको चिनियाँ लडाईमा ऐक्यबद्धता जनाउन बसन्तपुर डबलीमा हस्ताक्षर अभियान तथा दीप प्रज्वलन कार्यक्रममा पूर्वमन्त्री पोखरेलले एउटा छिमेकमा महामारी फैलिदा अर्काे छिमेकीलाई समेत दुख्ने बताए । उनले चिनियाँ सरकार र स्वास्थ्यकर्मीहरुप्रति सम्मान ब्यक्त गर्दै चाँडै नै छिमेकी मुलुक चीनले भाईरस विरुद्धको लडाईमा विजय प्राप्त गर्ने बताए ।

साँझ ५ बजेदेखि बसन्तपुर डबलीमा शुरु गरिएको दीप प्रज्वलन तथा हस्ताक्षर कार्यक्रममा प्रतिनिधि सभा सदस्य डा. विमला राईले कोरोना भाईरस विरुद्धको लडाईमा एउटा छिमेकीले अर्काे छिमेकीलाई सक्दो सहयोग गर्न आवश्यक रहेको धारणा व्यक्त गरिन् ।

प्रतिनिधि सभा सदस्य राजेन्द्र गौतमले कोरोना भाईरसका कारण चीनमा भएको क्षती र भयावह विरुद्ध अझ सशक्त ढङ्गले छिमेकी राष्ट्रलाई साथ र सहयोग गर्न नेपालीहरु तयार रहेको बताए ।

कार्यक्रममा चीनबाट नेपाल फर्केका विद्यार्थी, चिनियाँ लगायत विदेशी नागरिक र विभिन्न संघसंस्था र विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

फोटोमा हेर्नुहोस् दीप प्रज्वलन तथा हस्ताक्षर कार्यक्रम

प्रतिक्रिया दिनुहोस्