
११ फागुन २०७६, काठमाडौं
रौतहटको चन्द्रनिगाहपुर नजिकै ट्रकले प्रहरी भ्यानलाई ठक्कर दिदा पाँच जना प्रहरी घाइते भएका छन् ।
गौरबाट चन्द्रनिगाहपुरतर्फ गइरहेको ना१च १३३१ नम्बरको प्रहरी भ्यानलाई ना६ख ८६२५ नम्बरको ट्रकले ठक्कर दिदा पाँच जना घाइते भएका हुन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गौर बसपार्कका इन्चार्ज प्रहरी नायव निरीक्षक मनोज सिंह र मठिहा प्रहरी चौकीका इन्चार्ज गोविन्द यादवको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले जानकारी दिए ।
प्रहरी टोली पथलैयामा आइजीपी ठाकुरप्रसाद ज्ञवालीको ब्रिफिङ कार्यक्रममा भाग लिन आउँदै थियो । गौरबाट आएको प्रहरी टोली सवार भ्यानलाई मानसकि सन्तुलन ठिक नभएकी एक महिलालाई जोगाउन खोज्दा ट्रकले ठक्कर दिएको डीएसपी शाहीले बताए ।
ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले जानकारी दिए ।





