राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न नेपालको नेतृत्वमा कमिटी गठन



११ फागुन २०७६, काठमाडौं

सत्तारूढ नेकपाले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी बनाएको छ।

शनिबार (हिजो) बालुवाटारमा बसेको सचिवालय बैठकले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा खिमलाल देवकोटा र सुवासचन्द नेम्वाङ सदस्य रहने गरी कमिटी बनाएको हो।

उपाध्यक्ष वामदेव गौतमले आफूलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्ने हो भने पहिले राष्ट्रिय सभा सदस्य पनि प्रतिनिधि सभा सदस्य जस्तै प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने माग राखेका थिए।

गौतमकै मागअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गर्न गृहकार्यका लागि नेता नेपालको संयोजकत्वमा कमिटी गठन गर्ने प्रस्ताव राखेका थिए।

“प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य समान रूपले प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न अध्ययनका लागि गृहकार्य गर्न कमिटी गठन गरिसकिएको छ।” एक सचिवालय सदस्यले भनेका छन्।

राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्