बाँस्कोटाको अडियो सार्वजनिक गर्ने मिश्रविरुद्ध साइबर क्राइमको उजुरी



११ फागुन २०७६, काठमाडौं

संसदको सार्वजनिक लेखा समितिले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियो सार्वजनिक गर्ने विजय मिश्रविरुद्ध आइतबार (आज) साइबर क्राइमको उजुरी दर्ता गरेको छ।

समितिका सदस्य सांसदहरुले मिश्रले अडियो प्रकरणमा आफूहरुलाई समेत मुछेर चरित्रहत्या गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी दर्ता गराएका हुन्।

समितिका सचिव डा. रोजनाथ पाण्डेले उजुरी दर्ता गरिएको पुष्टि गरे। मिश्रले बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा गर्न खोजेको अनियमिततामा सार्वजनिक लेखा समितिका सांसदहरुको पनि मिलेमतो रहेको भन्दै सञ्चार माध्यममार्फत् आरोप लगाएका थिए।

समितिको बैठकले ३ दिनअघि नै प्रहरीको साइबर क्राइम ब्यूरोको नाममा छानविन गरेर कारबाहीका लागि पत्राचार गरेको थियो। तर प्रहरीको त्यस किसिमको छुट्टै ब्यूरो नभएका कारण प्रहरी मुख्यालयमा अर्को उजुरी दर्ता गरिएको हो।

प्रहरी मुख्यालयमा रहेको साइबर अपराध हेर्ने शाखामा उजुरी दर्ता गरेको पाण्डेले बताएका छन्। ७० करोडको कमिसन डिल गरिरहेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री बाँस्कोटाले नैतिकताका आधारमा राजीनामा दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्