प्रधानमन्त्री ओलीसहित चार जनाविरूद्ध अख्तियारमा उजुरी



११ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा उजुरी परेको छ।

प्रधानमन्त्री ओलीसहित निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व सञ्चार सचिव महेन्द्र गुरूङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेलविरूद्ध अख्तियारमा उजुरी परेको हो।

बाँके नेपालगञ्जका ६७ वर्षीय प्रेमबहादुर शाही र मकवानपुर हेटौंडा ११ नवलपुरका ६४ वर्षीय आनन्दराम पौडेलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, भू–उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, कम्प्युटर ल्याव र अप्टिकल फाइबर विस्तारमा अनियमितता भएको भन्दै उनीहरुविरुद्ध आइतबार (आज) अख्तियारमा उजुरी दिएका हुन्।

अनुचित कार्य भ्रष्टाचार गरेको भन्दै उनीहरूले कारबाहीको मागसहित उजुरी दिएका छन्। उक्त उजुरी अख्तियारले दर्ता गरिसकेको छ।

कमिसन डिलको अडियो रेकर्ड सार्वजनिकपछि सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिइसकेका छन्। प्रधानमन्त्री ओलीले उक्त अडियो डेढ महिना पहिले नै सुनिसकेको दावी गरिएको उक्त उजुरीमा प्रधानमन्त्रीले सो प्रमाण लुकाएर भष्टाचार ‘उद्योग’ कार्यमा संलग्न र मतियार रहेको पुष्टि हुने दावीका साथ छानविन गर्न माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्