‘एमसीसी’ संशोधनसहित पारित गर्ने अध्यक्षद्वयको संकेत



१० फागुन २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमसीसी संशोधनसहित पारित गर्ने पक्षमा देखिएका छन्।

सत्तारूढ नेकपाभित्रै एमसीसी विवादित बनेपछि अमेरिकी प्रतिनिधिहरूले अध्यक्षद्वयसहित अन्य नेताहरूसँग पछिल्ला दिनमा बाक्लो भेटघाट गर्ने गरेका छन्।

प्रतिवेदन बुझेको भोलिपल्ट शनिबार (आज) नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले नवलपरासी पुगेर एमसीसीलाई सचिवालयको बैठकबाट टुंगोमा पुर्‍याइने बताए।

अध्यक्ष प्रचण्डले एमसीसीलाई राम्रोसँग बुझेर राष्ट्रको हितमा हुने गरी मात्रै पारित गर्ने पनि बताएका छन्।

“नेगेटिभ पनि होइन। चुपचाप पास गरिहाल्नुपर्छ भन्ने पनि होइन।” अध्यक्ष प्रचण्डले भने, ‘राम्रोसँग बुझेर अध्ययन गरेर यसलाई राष्ट्रको हितमा हुने गरी मात्रै टुंग्याउनुपर्छ भन्ने मत आएपछि हामीले कार्यदल बनाएको हौं।’

यस्तै प्रचण्डका अनुसार हालै अमेरिकी प्रतिनिधिहरूले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीसँग पनि भेट गरी सो विषयमा छलफल गरिसकेका छन्।

‘अमेरिकी टोलीसँग कुराकानी हुँदा प्रधानमन्त्रीजीले नै हामीलाई बिफ्रिङ गर्नुभएको छ। एमसीसी भनेको कुनै बाइबल होइन। केही पनि चेञ्ज गर्न नहुने। जस्ताको त्यस्तै पास गर्नुपर्ने।” प्रचण्डले भनेका छन्, ‘यदी हामीकहाँ केही कन्सर्न आयो भने त यसलाई परिमार्जन गरेर, संशोधन गरेर लान सकिन्छ भनेर अस्तिको दिन प्रधानमन्त्रीजीले नै बताइसक्नुभएको छ।’

यस्तै प्रचण्डले एमसीसी यसअघि पनि दुई पटक संशोधन भइसकेको बताए। एमसीसी अगाडि बढाउन कार्यालय स्थापना र कर्मचारी राख्दा प्रोजेक्टकै बजेटबाट खर्च गर्ने संशोधन गरिएको उनको भनाइ थियो।

एमसीसी अध्ययन कार्यदलले पनि नेपालको संवेदनशीलतासँग सम्बन्धित केही विषयलाई संशोधन गरी परिमार्जनसहित अगाडि बढाउन सुझाव दिएको पनि प्रचण्डले बताए।

“नेपालको संवेदनशीलतासँग सम्बन्धित केही विषयलाई पूर्ण व्याख्या गरेर त्यसलाई परिमार्जन गरेर या केही कुरालाई परिवर्तन गरेर भए पनि यसलाई अगाडि बढाउनुपर्छ भन्ने खालको ओरेन्टेसन भएको छ।” अध्यक्ष प्रचण्डले भनेका छन्।

यस्तै अध्यक्ष प्रचण्डले एमसीसीबारे परिपक्व अध्ययन भएकोले यसबाट नतर्सिन अनुरोध पनि गरेका छन्।

अध्यक्षद्वय संशोधनसहित एमसीसी पारित गर्ने कुरामा सकारात्मक देखिएपनि नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी र वासिङ्टनबाट आएका अमेरिकी प्रतिनिधि र सांसदरूले भने एमसीसी सम्झौतामा संशोधन आफूहरुलाई मान्य नहुने बताउँदै आएका छन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्