‘अडियोको यथार्थ छोडेर प्रधानमन्त्रीविरुद्ध आक्रमण किन?’



०९ फागुन २०७६, काठमाडौं/कविता अधिकारी

सेक्युरिटी प्रेस खरिद प्रकरणको हिजो अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिनुभएको छ । जतिबेला अडियो सार्वजनिक भयो त्यतिबेलै नैतिकताका आधारमा राजीनामा दिनु उपयुक्त हुन्छ भन्दै उहाँले उक्त निर्णय लिनुभयो । अडियो सार्वजनिक हुँदा सामाजिक सञ्जाल,अनलाइन, विभिन्न माध्यमबाट त्यसमाथि टीका– टिप्पणी भइरहेका बेला मन्त्री बास्कोटा भने पश्चिम नेपालको भ्रमणमा हुनुहुन्थ्यो ।सरकारका प्रभावशाली मन्त्री परिषदका प्रवक्ता र सरकारको बचाउ गर्नसक्ने क्षमता राख्ने बास्कोटाले उक्त अडियोको कन्टेन्ट माथि अनावश्यक प्रतिरक्षा गर्नु भएन । किनभने सुरक्षण मुद्रण खरिदका सम्बन्धमा आर्थिक पाटो जोडिएर आएपछि त्यसमा पहिलो कदम नैतिकताको प्रदर्शनकै थियो । जुन उहाँले देखाउनुभयो ।

धनगढीबाट काठमार्डौ फर्के लगत्तै प्रधानमन्त्री ओलीलाई भेटेर उहाँले राजीनामा दिनुभयो । त्यसअघि प्रधानमन्त्री ओलीले मन्त्री बास्कोटालाई राजीनामा दिन सम्झाउनु भएको थियो । राजीनामा पछि मन्त्री बास्कोटाले अडियो प्रकरणको वाास्तविकता बाहिर ल्याउने र आउने बताउनुभएको छ । र यसको यथार्थता ढिलो चाँडो बाहिर आउने नै छ ।

अहिले बास्कोटाले राजीनामा दिइसकेपछि यस प्रकरणमा प्रधानमन्त्री ओलीलाई जबर्जस्ती विवादमा तान्ने योजनाबद्ध प्रयास शुरु भएको देखिन्छ । जसको एकमात्र उद्देश्य सरकार विरुद्धको निरन्तर आक्रमण हो । गोकुल बास्कोटा ओली मन्त्री परिषदका एक यस्ता प्रभावशाली व्यक्ति हुनुहुन्थ्यो जसले सरकार विरुद्ध भइरहेको आक्रमणको डटेर सामना गर्नुभयो । त्यसको धेरै हदसम्म सरकार प्रतिको दृष्टिकोण सकारात्म बनाउन योगदान पनि गर्यो । भलै उहाँका तीखो टिप्पणी र अतिआत्मविश्वासयुक्त कथनले विवाद पनि खिचेकै थियो ।

बास्कोटाको राष्ट्रिय राजनीतिमा ह्वात्तै विकसित उचाइकका कारण धेरै शत्रुहरू थिए । उहाँमाथि निरन्तर पार्टी भित्रकै र पार्टी बाहिरका धेरै व्यक्तिहरूको गिद्धे नजर पनि थियो । उहाँका कमीकमजोरीहरू खोज्न र त्यसलाई उछाल्न त्यो समूह लागिरहेकै थिए । त्यसै बीचमा यो रेकर्ड प्रकरण आउँदा उहाँ अप्ठयारोमा पर्नुभयो र राजिनामा दिनुभयो ।

झट्ट हेर्दा गोकुल बास्कोटाको राजीनामा यसको न्यायीक छानबिनमा मात्र यो मुद्धा सकिने देखिँदैन किनकि यसको उद्देश्य सरकार त्यसमा पनि प्रधानमन्त्री ओलीमाथि नियोजित आक्रमणको एउटा श्रृंखलाजस्तो देखिन्छ ।

अडियो प्रकरणलाई लिएर प्रधानमन्त्रीलाई विवादमा तान्ने प्रयासको कुनै तुक छैन । र यसले सरकार विरुद्धको नियोजित प्रयासलाई कुनै बल दिँदैन । प्रधानमन्त्री ओलीले भष्टाचार गर्दिन र गर्न दिन्न भन्ने जुन प्रण गर्नुभएको छ, त्यो प्रणमा कहीँ कतै कमि आएको छैन । मन्त्री बास्कोटाको अडियो सार्वजनिक भइसकेपछि प्रधानमन्त्री ओलीले स्वच्छता र पारदर्शीताको  सम्वन्धमा थोरै मात्रै प्रश्न उठेमा कसैको अनुहार नहेरी कारबाही गर्ने चेतावनी दिनुभएको थियो जुन यथार्थमा लागु पनि भयो । नेपाल राष्ट्र बैकका डेपूटी गर्भनर चिन्तामणि सिवाकोटीको पुस्तक विमोचनका अवसरमा बिहिबार उहाँले सुशासनका लागि चालिने कदममा आफु नहिचकिचाउने, जनप्रतिनिधि रुलिङ्ग पोजिसनमा पुग्नुको अर्थ लुट्नका लागि होइन र हामी सिष्टम बनाउनका लागि आएका हौ भन्नुभएको थियो ।

मन्त्री बास्कोटाले यो प्रकरण बाहिरिए लगतै राजीनामा दिनु पनि त्यसकै एउटा प्रमाण हो । बास्कोटा प्रधानमन्त्री निकटकै नेता हुनुहुन्छ । आफू निकटका नेताका बारेमा सार्वजनिक टीका,टिप्पणी हुँदा नेपाली काँग्रेस वा अन्य पार्टीका सन्दर्भमा भ्रष्टाचार प्रमाणित भइसकेकालाई समेत बचाउने काम भएको छ । तर ओलीले आफू निकटकै भनेर बास्कोटाको अनावश्यक प्रतिरक्षा गर्नुभएको छैन । उहाँले जेसुकै भएपनि कारबाही हुने अभिव्यक्ति दिएर आफू उक्त प्रतिबद्धतालाई फेरि एकपटक कार्यान्वयन गर्नु भएको छ । जब प्रधानमन्त्रीले बास्कोटा जस्ता निकटका नेतालाई त राजीनामा गर्न सुझाव दिनुभयो र न्यायीक छानबिनका निम्ति तयार रहन भन्नुभयो भने उहाँ कसरी भ्रष्टाचार, आर्थिक अनियमितता र खराब शासनका पक्षमा हुनुहुन्छ ?

उहाँ नेतृत्वको सरकार दुई वर्षमा प्रधानमन्त्री ओलीमाथि प्रमाणका आधारमा कसैले प्रश्न उठाउन सकेको छ ? उहाँ कुनै भ्रस्टाचार जन्य गतिविधि वा त्यस्ता कार्यमा संलग्न हुनुलाई बचाउनका निम्ति लागिपरेका कुनै प्रमाण छन् ? छैनन् । किनभने ओलीले नेपालको प्रमुख समस्याको पहिचान गरेरै भ्रस्टाचार विरुद्ध लडने संकल्प गर्नुभएको हो । आज नेपालको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार हो भन्ने उहाँलाई थाहा छ र त्यसलाई न्यूनीकरण गदै निर्मूल नगरेसम्म अपेक्षित विकास हाँसिल हुँदैन भन्ने पनि उहाँलाई थाहा छ र सत्य के हो भने ओली प्रधानमन्त्री भएपछि भष्टाचारीहरू कलाबजारीहरू, कमिसनखोरीहरू, निरुत्साहित मात्रै भएका छैनन् उनीहरूमा त्रासदी छाएको छ ।

कुनै मन्त्री, नेता, साना–ठूला कर्मचारीदेखि सार्वजनिक क्षेत्रमा काम गर्नेहरू सबै कतिबेला कुन काण्डमा समातिने हो भन्ने त्रासमा छन् । समाजमा गलत गर्नेहरू विरुद्ध जतिबेला पनि कारबाहीमा पर्न सकिन्छ भन्ने आतंकको वातावरण यो सरकारले निमार्ण गरेको हो । सरकारको विरोध गर्ने मध्येको ठूलो र प्रमुख हिस्सा भ्रष्टाचार गर्न पाएनौँ, कमिसन खान पाएनौँ, अनियमितता गर्न पाएनौँ भन्ने को छ । किनभने प्रधानमन्त्री ओलीले तिनलाई निशेध गर्नुभएको छ । जब कोही व्यक्ति बर्सौँदेखि नेता रिझाएर, मन्त्री रिझाएर वा कर्मचारीलाई खुवाएर देशको अरबौ रुपैया लुटिरहेको थियो त्यसका निम्ति यो भन्दा ठूलो प्रहार केही थिएन । हो, तिनै ओली सरकारका विरुद्ध निरन्तर लागिरहेका छन् र अहिले मन्त्री बास्कोटाले राजिनामा दिइसके पछि पनि उक्त प्रकरणमा प्रधानमन्त्रीलाई तान्ने प्रयास गरिरहेका छन् त्यसको पृष्ठभूमिमा काँग्रेस र अन्य पार्टीका कतिपय नेता समेत लागेका देखिन्छन् । उनीहरूको उद्देश्य सरकारले भ्रष्टाचार निर्मूल गरोस् भन्ने होइन, गुड गवर्नेन्स कायम गरोस् भन्ने पनि होइन । जसरी पनि शक्तिशाली ओली सरकारलाई विस्थापना गर्नुपर्छ भन्ने हो । जसका पक्षमा केही घरेलु र केही बाह्य शक्तिहरू पहिलेदेखि लागेकै छन् ।

प्रतिकूल स्वास्थ्यका बाबजुद पनि प्रधानमन्त्री ओली समाज र देशलाई विकास र समृद्धितर्फ उन्मुख गराउनु पर्छ भन्ने सोचको नेतृत्वकर्ता हो यसका लागि उहाँ सपना देख्नुहुन्छ । सपना मात्रै देख्नुहुन्न तिनलाई यथार्थमा रूपान्तरण गर्नुहुन्छ । त्यतिमात्र होइन, उहाँले समृद्ध नेपालको मार्गचित्र नै सार्वजनिक गर्नुभएको छ, जसको वरपर अबको नेपालले यात्रा गर्नेछ ।

ओली विरुद्ध ठूलो घरेलु वा बाह्य शक्ति हिजो पनि लागेकै थियो र आज पनि लागेकै छ तर जसरी हिजो त्यो शक्ति असफल भयो आज पनि त्यो त्यसरी नै असफल हुनेछ । कम्तिमा अबको तीनवर्ष ओलीले सरकारको नेतृत्व गर्नुहुनेछ । यो अवधिमा सरकार विरुद्ध देखापर्ने साना ठूला देशी देशीविदेशी सबै खालका षडयन्त्रलाई चिर्नु हुनेछ । अवरोधहरू छिचोल्नु हुनेछ । पर्खालहरू भत्काउनु हुनेछ । समृद्धिको नेपालमा विकास बहस जसरी उहाँले छेड्नुभयो र त्यसको नेतृत्व लिनुभयो त्यसरी नै भ्रष्टाचारीहरूलाई लखेट्ने मिसनको नेतृत्व लिनु भएको छ र यसमा सफल बन्नु हुनेछ त्यस क्रममा कुन पार्टीको कुन नेता, को मन्त्री, कुन कर्मचारी त्यस्ता आग्रह वा पूर्वाग्रहले कुनै अर्थ राख्दैन ।

प्रस्तुत सामग्री नेपाली समाचार पोर्टल चक्रपथ डट कमबाट साभार गरिएको हो।

प्रतिक्रिया दिनुहोस्