समाजवादी विद्यार्थी युनियनले गर्‍यो त्रिवि उपकुलपति कार्यकक्षमा तालाबन्दी



०९ फागुन २०७६, काठमाडौं

समाजवादी विद्यार्थी युनियन त्रिवि समितिले सात बुँदे माग राख्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा बुधबारदेखि तालाबन्दी गरेको छ।

परीक्षा नियन्त्रण कार्यालयलाई अनलाइन प्रणालीमा लैजानुपर्ने, त्रिविको आवास गृहमा लापरबाही रोक्नुपर्ने, त्रिवि परिसरमा बनाइएको छाप्रा टहरा र पशुपालन हटाई शैक्षिक वातावरण बनाउनुपर्ने माग समितिले राखेको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले बताए।

उनका अनुसार त्रिविको शैक्षिक क्यालेन्डरलाई कडाइका साथ लागू गर्दै अदालतमा मुद्दा चलिरहेको प्राध्यापकलाई जिम्मेवारी मुक्त गर्नुपर्ने र प्राध्यापकले एकै दिन हप्तौंसम्मको हाजिर गर्ने बेथिति रोक्नुपर्ने माग गरेको छ।

प्राध्यापकहरू पूर्णकालीन त्रिविमा अध्यापनमा लाग्नुपर्नेलगायत माग पनि युनियनको त्रिवि समिति राखेर उपकुलपति कार्यालयमा तालाबन्दी गरेको अध्यक्ष श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्