भारतमा दुई दुर्घटना : ६ नेपालीसहित २६ को मृत्यु



०९ फागुन २०७६, काठमाडौं

दक्षिणी भारतमा भएका दुईवटा छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा २६ जनाको ज्यान गएको छ।

त्यसमध्येको एउटा दुर्घटनामा कम्तीमा ६ नेपालीले ज्यान गुमाएका छन् भने २३ जना घाइते भएका बीबीसीले जनाएको छ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार ३४ जना सवार रहेको सो बसका घाइतेमध्ये तीन जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ।

बुधबार राति ११ बजेतिर तामिलनाडु राज्यको सलेम नजिकै उक्त दुर्घटना भएको थियो।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले मृतक र घाइते सुनसरी एवम् मोरङ जिल्लाका भएको बताए।

तीर्थयात्री सवार बस कन्याकुमारीबाट बङ्‍गलुर फर्किरहेको थियो।

दुर्घटनामा परेका यात्रुहरू दुई साताअघि विराटनगर-जोगबनी नाका हुँदै भारत प्रवेश गरेका थिए।

दिल्लीस्थित नेपाली दूतावासले मृतकका परिवारलाई खबर गरिएको र उनीहरू चाँडै सलेम पुग्ने जनाएको छ।

त्यसबाहेक शव फिर्ता गर्ने प्रकिया अघि बढाउन नेपाली दूतावासले भारतको विदेश मन्त्रालय र तामिलनाडूको स्थानीय निकायसँग समन्वयन गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्