अर्थमन्त्री खतिवडासँग अमेरिकाका काँग्रेस सदस्यकोे भेटवार्ता



०८ फागुन २०७६, काठमाडौं

अर्थमन्त्री डा. युवराज खतिवडासँग संयुक्त राज्य अमेरिकाका काँग्रेस सदस्यद्वय जर्ज होल्डिगं र अमी बेराले आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा अर्थमन्त्रीले नेपाल अमेरिका बीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा निरन्तर रुपमा गर्दै आएको सहयोगको लागि धन्यवाद ज्ञापन गरेका छन् ।

अर्थमन्त्री खतिवडाले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराए । उनले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यहाँ उत्पादन भएका बस्तुको बजारका लागि समस्या नहुने बताए ।

विश्वका धेरै जनसंख्या भएका मुलुकहरु छिमेकी देश भएकाले विश्व वजारको केन्द्रविन्दुमा नेपाल भएको बताए । अर्थमन्त्रीले गतबर्ष भएको लगानी सम्मेलनमा अमेरिकी निजी क्षेत्रको उत्साजनक सहभागिता रहेकोमा धन्यवाद समेत दिए ।

संविधानले व्यवस्था गरेका मौलिक हकको कार्यान्वयन गर्दै संघीय प्रणालीमा नागरिकले प्राप्त गर्ने अधिकार र सेवालाई गुणस्तरीय, दक्ष, प्रभावकारी र प्रविधि मैत्री बनाउन काम भैरहेको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले थप सहयोग आवश्यक रहेको जानकारी गराए ।

भेटमा अर्थमन्त्रीले एमसीसी अन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै द्धिविधा नभएको उल्लेख गर्दै सो सहायता सम्झौता संसदबाट अनुमोदन हुने विश्वास लिएका छन् ।

अमेरिकी कंग्रेसका सदस्यद्वयले अर्थमन्त्री समक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालको विकासले अमेरिकाको निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुन गएको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्