इबीएलाई दोहोरो उपाधि



०८ फागुन २०७६, काठमाडौं

आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) ले दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेको छ । इबीए ब्वाइज र गर्ल्स दुवैमा च्याम्पियन बन्यो ।

धापासीस्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा इबीएले एनईएलाई ३६–२७ ले पराजित गर्‍यो । इबीएका सुनिल मल्लले २२ अंक जोडे । सुरुका तीन क्वाटरमा अग्रता लिएको इबीएले क्रमशः ९–६, १५–२ र ८–६ को प्रदर्शन गर्‍यो । चौथोमा इबीए ४–१३ ले पछि पर्‍यो ।

गर्ल्सको थ्री बाइ थ्री उपाधि भिडन्तमा इबीए ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ८–६ ले हरायो । विजेताकी इशा मगरले ४ स्कोर गरिन् ।

फाइनलका सर्वाधिक स्कोर गर्ने दुवै सुनिल र इशा आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा एनईएका नारायण पौडेल तथा गर्ल्समा इबीए ‘बी’ की अस्मिता विक प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता भए । नारायणले ९८ तथा अस्मिताले ४२ स्कोर गरे । ब्वाइजमा इबीएका नवीन खनाल तथा गर्ल्समा इबीए ‘बी’ की दिब्य मगर उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । ब्वाइजमा मातृभुमि तथा गर्ल्समा अमृत अनुशासित टिम ठहरिए ।
विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, इबीएका संस्थापक प्रिन्सिपल प्रेमकुमार राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । साताव्यापी प्रतियोगिताको ब्वाइजमा ३२ तथा गर्ल्समा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

ह्वाइटहाउस यु–१८ च्याम्पियन
ह्वाइटहाउस आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा ह्वाइटहाउसले जेभियर इन्टरनेसनललाई ५६–४५ ले पराजित गर्‍यो । ह्वाइटहाउसका सुरज खत्रीले ८ अंक जोडे । ह्वाइटहाउसले पहिलो क्वाटरमा १०–८, दोश्रोमा १४–१२ र तेश्रोमा २०–७ को अग्रता लिएको थियो । चौथोमा जेभियरले १८–१२ को अग्रता लिएपनि जितका लागि पर्याप्त भएन । विजेता ह्वाइटहाउसका विशाल मोक्तान ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा समृद्धिले तेश्रो स्थानमा चित्त बुझायो । समृद्धिले न्यु जेनिथलाई ७८–६९ ले हरायो । समृद्धिका सोमित गुरुङले २० स्कोर गरे ।

विजेतालाई संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन १ गतेदेखि सुरु प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । यसै प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा बंगलादेशमा जुन–जुलाईमा हुने साबा यु–१८ पुरुष बास्केटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको चयन गरिने छ ।

बक्सिङ छनोट पूरा
थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि बक्सिङ खेलाडी छनोट प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । सातदोबाटोमा भएको प्रतियोगिताबाट पुरुषमा ६ र महिलामा ३ गरी ९ खेलाडी थाइल्यान्डको पटायामा अप्रिल १ देखि १० तारिखसम्म हुने च्याम्पियनसिपका लागि छनोट भए । आ–आफ्नो स्पर्धामा पहिलो हुने खेलाडीले थाइल्यान्ड यात्रा पक्का गरेका हुन् ।

नेपाल बक्सिङ संघद्वारा आयोजित छनोट प्रतियोगिताबाट महिला ५१ केजीमा नेपाल आर्मीकी ललिता महर्जन नेपाल प्रहरीकी दिवाना शेर्मालाई पराजित गर्दै पहिलो भइन् । महिला ५७ केजीमा आर्मीकी मिनु गुरुङले आर्मीकै चन्द्रकला थापाबाट वाक ओभर पाउदै छनोट भइन् । महिला ६० केजीमा नेपाल आर्मीकी पुनम रावल बुधबारै छनोट भइसकेकी छन् ।

पुरुष ५२ केजीमा प्रहरीका चन्द्रबहादुर थापाले आर्मीका सुशिल थापा मगर, ५७ केजीमा आर्मीका पुरन सुनुवारले ललितपुरका बुद्ध ग्याम्जो लामा, ६३ केजीमा काठमाडौंका सनिल शाहीले झापाका अभिनय राई, ६९ केजीमा प्रहरी भुपेन्द्र थापाले दाङका विकास राणा र ८१ केजीमा आर्मीका गणेश प्रधानले दाङका केशर खत्रीलाई हराउदै पहिलो भए । प्रतिद्वन्द्वीविहीन आर्मीका रवि सुनुवार पुरुष ७५ केजीमा स्वतः छनोट भए ।

प्रतिक्रिया दिनुहोस्