चीनद्वारा तीन पत्रकारलाई निर्वासन



०७ फागुन २०७६, काठमाडौं

चीनले अमेरिकी पत्रिका ‘वाल स्ट्रिट जर्नल’का तीन जना पत्रकारलाई निर्वासन [देश निकाला] गरेको छ।

बुधबार (आज)को नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग सुयाङले ‘वाल स्ट्रिट जर्नल’मा छापिएको लेखका कारण उनीहरूलाई देश निकाला गरिएको जानकारी गराए।

गत ३ फेब्रअरीमा उक्त जर्नलले ‘चाइना इज द रियल सिकम्यान अफ एसिया’ शीर्षकमा एउटा लेख छापेको थियो।

‘सम्पादकहरूले जातीय भेदभावपूर्ण शीर्षक राखेर चिनियाँ नागरिक र अन्तर्राष्ट्रिय समुदायमा घृणा र आक्रोश पैदा गरेका छन्,’ प्रवक्ता सुयाङले भने।

उनले त्यस्तो लेख छापिएपछि उक्त पत्रिकाले सार्वजनिक रूपमा माफी नमागेको तथा त्यसमा संलग्नलाई कुनै कारबाही गर्ने जानकारी नदिएका कारण उसको बेइजिङ ब्यूरोमा कार्यरत पत्रकारको प्रेस पास फिर्ता लिने निर्णय भएको बताए।

ती पत्रकारहरूलाई पाँच दिनभित्र चीन छोड्न समय दिइएको पनि प्रवक्ता सुयाङले जानकारी गराए।

यसअघि मंगलबार मात्र अमेरिकी अधिकारीहरूले चीनका पाँच सरकारी सञ्चारमाध्यमलाई चिनियाँ सरकारको फैलिएको स्वरूपका रूपमा व्यवहार गर्ने बताएका थिए।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्