सम्पादकहरूद्वारा चिनियाँ राजदूतावासको विज्ञप्तिप्रति आपत्ति



०७ फागुन २०७६, काठमाडौं

कान्तिपुर पब्लिकेशनको अंग्रेजी पत्रिका ‘द काठमान्डु पोष्ट’मा प्रकाशित एउटा लेखबारे काठमाडौंस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिप्रति सम्पादकहरूले ध्यानाकर्षण भएको जनाएका छन्।

बुधबार (आज) एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमका १७ सम्पादकहरुले चिनियाँ दूतावासको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका हुन्।

‘प्रेसमा आएका सामग्रीप्रति असहमति राख्ने, त्यसको खण्डन गर्ने व्यक्ति वा संस्थाको अधिकारको हामी सम्मान गर्छौं,’ सम्पादकहरूको विज्ञप्तिमा भनिएको छ,‘तर कुनै विचार वा समाचार प्रकाशित गरेबापत् सम्पादकको नामै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ। त्यस्तो कार्यको हामी भत्सर्ना गर्छौं। दूतावासको विज्ञप्तिले कूटनैतिक मर्यादा पनि नाघेको हामी स्मरण गराउन चाहन्छौं।’

यस्तै विज्ञप्तिमा नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको र त्यसको अभ्यास र रक्षा गर्न आफूहरू प्रतिवद्ध रहेको पनि उल्लेख छ।

यसअघि मंगलबारको काठमान्डु पोष्टमा ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स’ शीर्षकमा एसिया न्यूज नेटवर्कको आर्टिकल छापेको थियो।

नाटोका लागि अमेरिकाका पूर्व राजदूत रहेका इभो ड्याल्डरको उक्त लेखमा चिनियाँ युआनमा भएको माओत्से तुङको तस्वीरमा मास्क लगाइएको छ।

सोही विषयलाई लिएर मंगलबार साँझ विज्ञप्ति निकाल्दै चिनियाँ दूतावासले काठमान्डु पोष्टका सम्पादक अनुप काफ्लेले पहिलादेखि नै कुत्सित मनसायका साथ समाचारहरू छापिरहेको आरोप लगाएको छ।

सम्पादकहरुद्वारा जारी विज्ञप्ति

फाइल तस्वीर

 

प्रतिक्रिया दिनुहोस्