अफगान चुनावः अब्दुल्लाद्वारा राष्ट्रपतिको चुनावी नतिजा अस्वीकार



०७ फागुन २०७६, अफगानिस्तान

अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोग (आईईसी) ले राष्ट्रपति पदको अन्तिम नतिजा घोषणा गरेको केही घण्टापछि देशका मुख्य कार्यकारी अधिकारी (सीईओ) अब्दुल्ला अब्दुल्लाले उक्त चुनावी नतिजा अस्वीकार गरेको घोषणा गर्नु भएको छ । उहाँले आफूले जित हासिल गरेको दाबी गर्दै सबै पक्षको सहभागितामा “समावेशी सरकार” गठन गर्ने बताउनुभएको छ ।

आइईसीले घोषणा गरेको अन्तिम नतिजामा वर्तमान राष्ट्रपति अशरफ घानीले सबैभन्दा बढी मत प्राप्त गर्नुभएको उल्लेख छ । कूल खसेको मतको ५०.६ प्रतिशत मत घानीले प्राप्त गर्नुभएको टोलो समाचार समितिले जनाएको छ । अब्दुल्ला अब्दुल्लाले भने ३९.५२ प्रतिशत मत प्राप्त गर्नु भएको छ ।

निर्वाचन आयोगले चुनावी नतिजा सार्वजनिक गरेलगत्तै अब्दुल्लाले विज्ञप्ति जारी गरी विवादित मतसम्बन्धी आयोगको निर्णय “अवैधानिक” रहेको र त्यो स्वीकार्य नरहेको बताउनुभयो । उहाँले चुनावी नतीजा प्रजातन्त्रको बिरूद्धको कदम हो र आफूले त्यसलाई स्वीकार्न नसक्ने बताउनुभयो । “यो राष्ट्रद्रोह हो,” अब्दुल्लाहले भन्नुभयो ।

उहाँले स्वतन्त्र र स्वच्छ मतदानमा आफूहरु विजयी रहेको दाबी गर्दै भन्नुभयो, हामी हाम्रो “जीत” घोषणा गर्छौं । उहाँले आफूहरुले समावेशी सरकार गठनको घोषणा गर्ने बताउनुभयो । गत वर्ष सेप्टेम्बरको चुनावमा तालिबानले यस प्रक्रियालाई अवरुद्ध पार्ने धम्कीका बीचमा सम्पन्न भएको थियो । तालिबान समूहले राष्ट्रपतिको चुनावलाई बहिस्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्