नेपाल ‘कोरोना फ्री जोन’ : पर्यटक तान्न चीनका मिडियामा विज्ञापन



०६ फागुन २०७६, काठमाडौं

चीनबाट फैलिएको कोरोना भाइरसबाट नेपालको पर्यटन क्षेत्रलाई नकारात्मक असर नपरोस् भनी सरकारले चिनियाँ मिडियामा नेपाल ‘कोरोना फ्री जोन’ को विज्ञापन दिने भएको छ।

सरकारले नेपाल अहिलेसम्म कोरोनाबाट संक्रमित नभएको सन्देश प्रवाह गर्नेदेखि, विश्वभरका पर्यटकलाई स्वागत गर्न तयार रहेको जानकारी सहितको विज्ञापन प्रकाशन/प्रसारण गर्ने भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटनसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिसँग छलफल गरेर कोरोना भाइरसबाट नेपालको पर्यटन क्षेत्रमा असर पर्न नदिन ५ बुँदे निर्देशन दिएका छन्।

नेपाल कोरोना मुक्त क्षेत्र रहेको श्रव्यदृष्य प्रचार सामग्री अंग्रेजी, हिन्दी र चिनियाँ भाषामा ३ दिनभित्र तयार गरेर व्यापक प्रचार–प्रसार गर्न मन्त्री भट्टराईले निर्देशन दिएका हुन्।

यस्ता सामग्री मन्त्रालय, विदेशमा रहेका कुटनीतिक नियोग, पर्यटन बोर्ड, भ्रमण वर्षको सचिवालय लगायतका निकायका वेबसाइटमा राखिनेछ।

यस्तै चीनले सामना गरिरहेको सामनाप्रति ऐक्यबद्धता जनाउँदै यो संकट समाधानमा चीनले सफलता पाउने र त्यसपछि चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाल तयार रहेको सन्देश ७ दिनभित्र तयार पारेर चिनियाँ सञ्चारमाध्यम र चीनमा रहेका नेपाली नियोगमार्फत सम्प्रेषण गराउन मन्त्री भट्टराईले निर्देशन दिएका हुन्।

यस्तै वैकल्पिक बजार छानेर १२ स्थानमा डेस्क राख्न पर्यटन बोर्डलाई मन्त्री भट्टराईले निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्