प्रेस रिभ्यू : कोरोनाभाइरसको त्रासबीच नेपालमा स्वाइन फ्लू र हङकङ फ्लू, दिल्लीबाट उड्न आगमन छाप अनिवार्य, ललिता निवास प्रकरणमा अर्का मन्त्री तानिए



आज फागुन ६ गते मंगलबार देशका प्रमुख राष्ट्रिय दैनिकमा पूर्व सभामुख कृष्णबहादुर महराको सफाइ, चीनबाट फर्किएका नेपाली, सीमा क्षेत्रमा भारतीय हस्तक्षेप लगायत शीर्षकमा समाचारहरु प्रकाशित छन् ।

निमोनिया गराउने नोबल कोरोनाभाइरसको त्रास रहेकै बेला इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) अन्तरगत स्वाइन फ्लू र हङकङ फ्लूसमेत देखिन थालेको कान्तिपुर दैनिकमा समाचार छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार ‘इन्फ्लुएन्जा ए (एच१एन१) पीडिएम ०९’ अर्थात् स्वाइन फ्लु र ‘इन्फ्लुएन्जा ए (एच३एन२)’ अर्थात् हङकङ फ्लु देखिन थालेको हो । सिन्धुपाल्चोकमा फैलिएको रुघाखोकी ‘हङकङ फ्लु’ भएको र बाजुरामा ‘स्वाइन फ्लु’ र ‘इन्फ्लुएन्जा बी’ देखिएको उनले जानकारी दिइन् । गर्मी याम सुरु हुने समय र मनसुनपछि मौसमी रुघाखोकीको समस्या बढी देखिने गरेको छ । स्वाइन फ्लुसँग कोरोनाभाइरसको लक्षण मिल्दोजुल्दो हुने भएकाले थप त्रास फैलिएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका सिनियर कन्सलटेन्ट चेस्ट फिजिसियन डा. नवीनप्रकाश शाहले बताए । ‘अलि कडा खालको ज्वरो र रुघाखोकी भए आत्तिनु हुन्न,’ उनले भने, ‘तत्काल चिकित्सकीय सुझाव लिनुपर्छ ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सरुवा रोग विशेषज्ञ डा. रञ्जित शाह नेतृत्वको टोलीले सोमबार भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइन स्थलमा सबैको घाँटी र नाकको स्वाब संकलन गरेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । १ सय ७५ जनाको थ्रोट स्वाब संकलन गर्न चार घण्टा लागेको शाहले बताए । ‘खाना खाएर थ्रोट स्वाब संकलन गर्दा वाकवाकी लाग्न सक्ने जानकारी गरायौँ । सबैले थ्रोट स्वाब संकलन गरेपछि मात्र खाना खानुभयो,’ उनले भने । स्वाब संकलनपछि स्वास्थ्यकर्मीले शरीरमा इथानोलयुक्त ‘स्प्रे’ छर्के । डा. शाहले भने, ‘देश र पेसाप्रतिको कर्तव्य पूरा गर्नु जोखिम नै थियो । सबै काम सेर फर्कदा खुसी लाग्यो ।’ -याल संकलनमा कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट डा. महेश अधिकारी, मेडिकल टेक्नोलोजिस्ट त्रिभुवनप्रसाह शाह, स्मृति श्रेष्ट, विमलेश झा, सुनी डङ्गोल, स्विटी उपाध्ययाय, विनिता महर्जन, अबिना ओझा र अर्जुन चौधरी खटिएका थिए । यसको नेतृत्व प्रयोगशालाकी निर्देशक डा. रुना झाले गरेकी थिइन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालका अनुसार संकलित ¥याल परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको छ । दाहालले भने, ‘सबै सकुलशल हुनुहुन्छ । कोभिड–१९ भाइरस संक्रमणको कुनै लक्षण देखिएको छैन ।’

चीनको हुवेई प्रान्तबाट उद्धार गरी नेपाल फर्काइएका नेपालीहरुले आफूहरुको नेपालको पहिलो रात ‘एक निन्द्रामै’’ बितेको बताएको नागरिक दैनिकमा समाचार छ । चीनमा रहँदा मानसिक त्रासले रातभरि सुत्न नपाएका आफूहरुको आइतबारको नेपालको पहिलो रात बेलुकी सुतेकोमा सिधै बिहान मात्रै ब्यूँझिएकोे बताए। चीनमा रहँदा कोरोना भाइरसबाट ‘यता यति मर्यो, उता उति मर्यो’ भन्ने समाचारमै ध्यान तानिएर रात बित्थ्यो। तर नेपालमा पुगेपछि भने त्यो सोच नै हटेर आनन्दले सुत्न पाएको उनीहरुले बताए। उनीहरुले चीनमा सुत्दा चाहेर पनि सुत्नै नसकिने भएको तर नेपालमा कुनै डरत्रास नभएकाले आनन्दका साथ निन्द्रा परेको अनुभव सुनाए। क्वारेन्टाइनमा रहेका दिगम्वर खोटेजाले आफनो मात्रै नभई क्वारेन्टाइनमा रहेका सबै नेपालीको नेपालको आइतबारको पहिलो निन्द्रा एकराते भएको बताएको जनाए। ‘सबैजना आरामले सुतेको बताएका छन्, उनले नागरिकसँग भने, ‘नेपाल पुगेपछिको अनुभव नै अर्को महशुस भएकाले सबैलाई आनन्दका साथ निन्द्रा लागेको बताए।’ चीनमा रहँंदा सुत्न खोज्दा पनि सुत्न नसकेको, एकछिन निन्द्रा लागे पनि तुरुन्त व्यूँझने अनि व्यूँझिने वितिकै मोबाइलबाट समाचार हेर्न मन लाग्ने उनले सुनाए। कोरोना भाइरसका कारण कता कति मरे भनेर समाचार हेरेर चीनमा रात वित्ने गरेको स्मरण उनले गरे। यसबाट थप मानसिक चिन्ता हुने र निन्द्रा नै नपर्ने गरेको उनले सम्झे। उनले नेपाल पुगेपछिको मानसिकता नै परिवर्तन भएर सुरक्षित भएको महशुश भएको अनुभव साटे। यही कारण सबैैलाई निन्द्रा परेको बताएको उनले बताए।

बालुवाटारको सरकारी जग्गा अनियमितता प्रकरणमा अर्का पूर्वमन्त्रीसमेत छानबिनमा तानिएको नयाँ पत्रिका दैनिकमा समाचार छ । ०६३ मा भूमिसुधार तथा व्यवस्थामन्त्री रहेका जगतबहादुर बोगटीको समेत त्यसमा संलग्नता भेटिएको छ । उनकै कार्यकालमा भूमिसुधार मन्त्रालयले नेपाल समरजंग कम्पनीको जग्गा टिकिन्छा गुठीमार्फत मोहीलाई दिने प्रक्रिया सुरु गरेको अनुसन्धानमा खुलेको छ । मन्त्री बोगटीले नै त्यससम्बन्धी टिप्पणी सदर गरेको मन्त्रिपरिषद्मा पेस गरेका थिए । तर, मन्त्रिपरिषद्मा छलफलकै क्रममा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार विघटन भएपछि निर्णय हुन पाएन । पछि डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले गुठीको नाममा लगेर मोहीलाई जग्गा दिएको थियो । बोगटी मन्त्री हुँदाकै निर्णयलाई आधार बनाएर पछि फेरि मन्त्रिपरिषद्मा त्यससम्बन्धी प्रस्ताव लगिएको भेटिएको छ । सोही आधारमा यसमा उनको समेत संलग्नता देखिएको सिआइबी स्रोत बताउँछ । बोगटी तत्कालीन नेकपा (माले)बाट भूमिसुधारमन्त्री भएका थिए । बोगटी मन्त्री हुँदा तयार भएको प्रस्तावलाई पछि चन्द्रदेव जोशी भूमिसुधारमन्त्री हुँदा मन्त्रिपरिषद्मा पेस भएको थियो । त्यतिवेला मन्त्रिपरिषद्बाट निर्णय गराई जग्गा गुठीको नाममा लगेर मोहीलाई दिइएको थियो । जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिसकेको छ । तीन रोपनी १२ आना जग्गा गुठीको नाममा लगेर नक्कली मोही खडा गरी भूमाफिया शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीले आफ्नो नाममा ल्याएका थिए ।

परराष्ट्र मन्त्रालयले गरेको औपचारिक आग्रहपछि भारतीय अध्यागमनले ‘नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले विमानबाट काठमाडौँ फर्कन नपाउने’ नियम अनिवार्य गरेको कान्तिपुर दैनिकमा समाचार छ । दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा यात्रुले आफ्नो राहदानीमा ‘प्रस्थान छाप’ (डिपार्चर स्टाम्प) भएको अवस्थामा मानै भारतीय अध्यागमनले ‘आगमन छाप’ (एराइभल स्टाम्प) लगाउने स्पष्ट प्रबन्ध कायम भएको जनाएको छ । यो सूचनापछि परोक्षरुपमा नेपाल–भारतका नागरिकले हवाईमार्ग हुँदै एकअर्को देशमा आवतजावत गर्न नागरिकता वा अन्य प्रामाणिक पहिचानपत्र प्रयोग गर्न पनि नसक्ने भएका छन् । ‘नागरिकतामा एराइभल वा डिपार्चर स्टाम्प लगाउन असम्भव रहेको र यसबारे रेकर्ड पद्धतिसमेत प्रभावकारी नभएका कारण अब आवागमनमा पासपोर्ट प्रयोगका लागि यात्रुलाई प्रोत्साहित गरिनेछ,’ अध्यागमन विभागका एक अधिकारीले भने । दिल्लीस्थित उपनियोग प्रमुख भरतकुमार रेग्मीका अनुसार, ‘दिल्ली आउने नेपाली यात्रुको पासपोर्टमा इन्ट्री परमिट देखियो भने मात्रै भारतीय अध्यागमनले एक्जिट–परमिट दिने दिने नियम अनिवार्य’ भएको छ ।

भारतीय पक्षले दार्चुलाको व्याँस गाउँपालिकाको सीमावर्ती नेपाली भूमिमा फेरि हस्तक्षेप गरेको नागरिक दैनिकमा समाचार छ । भारतीय पक्षले महाकाली नदीमा एकतर्फी काठेपुल राख्नुका साथै नेपाली भूमिमै आएर डोजर प्रयोग गरी सयौँ मिटर सडक खनेको छ । भारतीय पक्षले व्यास–२ को दोपखे क्षेत्रमा सीमानदी महाकालीमा काठेपुल निर्माणका साथै नेपाली भूमिको प्रयोग र प्राकृतिक साधानको दोहन गरिरहेको छ । नेपाली जङ्गलको प्रयोगदेखि लिएर नेपाली भूभागमै सुरक्षा गस्तीको काम भारतीय सुरक्षा बलले गरिरहेको छ । भारतमा सडक निर्माणको बहानामा नेपाली भूमिको दोहन तथा सडक प्रयोग गरिएका विस्फोटक पदार्थका कारण नेपालतर्फ गम्भीर क्षति पुगेको छ । भारतले व्यास गाउँपालिका– र २ को सीमावर्ती क्षेत्रमा करिब डेढ सय मिटर तथा त्यसकै अढाइ सय मिटर परको दूरीबाट करिब तीन सय मिटर सडक बनाएको पाइएको छ । भारतले एकतर्फ रुपमा सीमा क्षेत्रमा निर्माण गरिरहेको सडकका कारण महाकाली नदिएको बहाव थुनिने, नदी क्षेत्र साँघुरिनुका साथै नेपालतर्फको घोडेटो बाटोमा समेत क्षति पुगेको छ । भारतीय पक्षले २०७४ सालमा पनि नेपाललाई जानकारी नदिई अन्तर्राष्ट्रिय सीमानदी महाकालीमा काठेपुल राखेको र नेपाली भूमिकै आएर डोजर ओसारपसार गर्न ठाउँ–ठाउँमा सडक खनेको थियो । यसपटक पनि भारतले सोही कार्य दोहोर्याएको छ ।

झन्डै चार करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार एक इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको नयाँ पत्रिका दैनिकमा समाचार छ । आयोगले डिभिजन सडक कार्यालय विराटनगरका तत्कालीन डिभिजन प्रमुख (सिडिई) जितेन्द्रकुमार चौधरीविरुद्ध तीन करोड ९९ लाख ४४ हजार रुपैयाँ बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको हो । सडक विभागअन्तर्गत कार्यरत रहँदा सडकका विभिन्न आयोजनामा बसी ठेकेदारसँग मिलेर गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरी परेपछि आयोगले उनीमाथि छानबिन थालेको थियो । गैरकानुनी सम्पत्ति आर्जन गरी श्रीमती र छोरासमेतका नाममा खरिद गरेको घर तथा जग्गा, विभिन्न बैंकमा रहेको मौज्दात, लगानी, अन्य खर्च र उनको आम्दानीसमेतको अनुसन्धानबाट उनले झन्डै चार करोड रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको पुष्टि भएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । गैरकानुनी रूपमा आर्जन गरेको बिगो श्रीमती र छोरा तथा आफ्नै नाममा राखिएको सम्पत्तिबाट असुलउपर र जफत गर्न र नपुग बिगो चौधरी स्वयंसँग असुलउपर गरी जफत गर्नसमेत अख्तियारले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्