किरात प्रदेशको विकल्प छैन : प्रचण्ड



०५ फागुन २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात शब्दले देशभरिकै आदिवासी जनजातिलाई सम्बोधन गर्ने बताएका छन्।

सोमबार (आज) बिहान किरात राई यायोख्खा [किराया] ले १ नं. प्रदेशको नाम ‘किरात प्रदेश’ राख्नका लागि पहल गरिदिन आह्वान गर्दै अध्यक्ष प्रचण्डलाई भेट्दा यस्तो बताएका हुन्।

“मैले किरातको पक्षमा पार्टीको सचिवालयमा धेरै पटक बहस गरेको छु। एउटा ‘किरात’ शब्दले देशभरिको आदिवासी जनजातिलाई सम्बोधन गर्दछ।” अध्यक्ष प्रचण्डले भने, ‘किनकी, किरात एउटा इतिहास हो। यतिमात्रै नभइ किरात सभ्यता र नेपालको गौरव पनि हो।’

यस्तै किरात शब्दमा साम्प्रदायिकता देख्नु गलत रहेको उनको भनाई थियो। “किरातमा साम्प्रदायिकताको गन्ध देख्नु, संकिर्णताको गन्ध देख्नु गलत हुन्छ भनेर मैले बहस गरेकोगर्‍यै छु।” यसैगरी अध्यक्ष प्रचण्डले किराया टोलीलाई किरात प्रदेशका लागि प्रधानमन्त्रीलाई भेट्न पनि सुझाव दिए।

प्रचण्डले जनयुद्धकालदेखि नै किरात राज्यको एजेण्डा उठ्दै/उठाउँदै आएकोले अब ‘किरात प्रदेश’को विकल्प नभएको बताए। “जनयुद्धकालदेखि नै किरात प्रदेशको एजेण्डा उठ्दै आएको छ।” अध्यक्ष प्रचण्डले भने, ‘अब किरात प्रदेशको विकल्प छैन।’

यायोक्खाका अध्यक्ष दिवस राईको नेतृत्वमा प्रचण्ड निवास खुमलटार पुगेको टोलीले अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्रका साथै यायोक्खाको मुखपत्र ‘निप्सुङ’ समेत दिएको थियो।

प्रतिक्रिया दिनुहोस्