रक्षामन्त्रीको अवलोकन हेलिकोप्टरबाट मात्रै



०५ फागुन २०७६, काठमाडौं

कालापानी क्षेत्रको हेलिकोप्टरबाट मात्रै अवलोकन गरेर उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको टोली फर्किएको छ।

सोमबार (आज) बिहान साढे ८ बजेतिर दार्चुलाको सदरमुकाम खलंगाबाट नेपाली सेनाको एन ए ०५८ नम्बरको हेलिकोप्टरबाट कालापानी क्षेत्रको लागी उडेको टोली हेलिकप्टरबाट अवलोकन गरी बिहान ९ बजेतिर फर्किएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

कालापानी क्षेत्रमा अत्याधिक हिमपातका कारण हेलिकोप्टर अवतरण गर्न नसके पनि हेलीकोप्टरबाटै ब्यास गाउँपालिकाको वडा न १ छाङरु, तिंकर लगायत कालापानी क्षेत्रको अवलोकन गरेको प्रमुख जिल्ला अधिकारी यद्धु नाथ पौड्यालले बताएका छन्।

दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ क्षेत्रमा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र रहेको छ। नेपालको व्यास गाउँपालिकाको छांगरु र तिंकरमा हिमपातका कारण ६ महिना मात्रै मानिसहरु बस्ने गरेका छन्। त्यो बाहेक छ महिना त्यहाँको स्थानीय बसाइ सरेर सदरमुकाम खलंगा झर्ने गर्छन्।

प्रतिक्रिया दिनुहोस्