अन्तरविद्यालय टिचर्स फुटसल प्रतियोगिताको उपाधि ड्याफोडिललाई



०४ फागुन २०७६, काठमाडौं

डाफोडिलले सातौं विद्या संस्कार अन्तरविद्यालय टिचर्स फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

अत्तरखेलस्थित विद्या संस्कार स्कुलमा भएको फाइनलमा ड्याफोडिलले भ्याली भ्यु इङलिस स्कुललाई ३–० गोलले पराजित गर्‍यो । ड्याफोडिलका छेवाङ मोक्तानले २ तथा रामेश्वर थापा मगरले १ गोल गरे । डाफोडिलका रोशनराज पन्त ‘म्यान अफ द म्याच’ घोषित भए । उपाधिसँगै ड्याफोडिलले २० हजार नगद पुरस्कार पायो भने भ्याली भ्युले १० हजार नगद पुरस्कारमा चित्त बुझायो ।

विद्या संस्कार खेलकुद विभागद्वारा आयोजित प्रतियोगितामा ड्याफोडिलका छेवाङ मोक्तान उत्कृष्ट खेलाडी, विद्या संस्कारका रुविन श्रेष्ठ उत्कृष्ट गोलरक्षक, रिब्सका मिलन गुरुङ ‘मोस्ट प्रोमिसिङ प्लेयर’ र भ्याली भ्युका इत्ची महर्जन सर्वाधिक गोलकर्ता बने । बृहस्पति विद्या सदनले अनुशासित टिमको उपाधि हात पार्‍यो ।

विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का अध्यक्ष मनोज ढुंगाना, समाजसेवी विमल ठकुरी लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा १३ पुरुष टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

जेभियर र ऋत फाइनलमा
जेभियर इन्टरनेसनल कलेज र ऋत एकेडेमी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताह अन्तर्गत गर्ल्स फुटसलमा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

माकलबारीमा भएको सेमिफाइनलमा जेभियरले जया मल्टिपल कलेजलाई १–० गोलले पराजित गर्‍यो । अस्मिता बस्नेतले निर्णायक गोल गरिन् ।

अर्को सेमिफाइनलमा ऋतले ग्लेसियरलाई ३–० गोलले हरायो । प्रतीक्षा भण्डारीले २ तथा शिला पुनले १ गोल गरे । ब्वाइजमा समृद्धि र टाइम्सले यसअघि नै फाइनल भेट पक्का गरिसकेका छन् । ब्वाइज/गर्ल्स दुवैको फाइनल फागुन ६ गते हुनेछ ।

बास्केटबल : जेभियर उपाधिनजिक
जेभियर इन्टरनेसनल कलेज पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताह अन्तर्गत ब्वाइज बास्केटबलमा आइतबार फाइनलमा प्रवेश गरेको छ ।

बसुन्धरास्थित ऋत एकेडेमीमा भएको दोश्रो सेमिफाइनलमा जेभियरले साइपाल एकेडेमीलाई ३९–३७ को झीनो अन्तरले पराजित गर्‍यो । जेभियरका लियुश केसीले १० अंक जोडे ।

पहिलो क्वाटरमा जेभियर ४–१४ ले पछि परेपनि बाँकीमा अग्रता बनाउँदै फाइनलमा स्थान सुनिश्चित गर्न सफल भयो । अन्य क्वाटरमा जेभियरले १२–६, १३–१० र १०–७ को अग्रता लियो ।

उपाधिका लागि जेभियरले सीसीआरसी विरुद्ध प्रतिस्पर्धा गर्नेछ । गर्ल्सको फाइनल साइपाल र मोर्गनबीच हुनेछ । दुवै फाइनल खेल सोमबार हुनेछन् ।

पाँच खेल समावेश खेलकुद सप्ताह अन्तर्गत ब्वाइज/गर्ल्सको भलिबल र टग अफ वार तथा टेबलटेनिस सम्पन्न भइसकेका छन् ।

स्किब्सको दोहोरो जित
स्किब्सले दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो जित हात पारेको छ ।

धापासीस्थित आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) को कोर्टमा भइरहेको प्रतियोगितामा स्किब्सले टीआईएलाई १६–११ ले पराजित गर्‍यो । अर्को खेलमा स्किब्सले एनइएलाई १५–१२ ले हरायो । दुवै खेलमा स्किब्सका अनुज खत्रीले सर्वाधिक स्कोर गरे । अनुजले टीआईए विरुद्ध ८ तथा एनइए विरुद्ध ९ अंक जोडे ।

जुनियर ब्वाइजमै इबीएले नेपाल मोडेललाई १५–१०, एनइएले टीआईएलाई २०–१४, मातृभुमिले काठमाडौं ग्लोबललाई १६–९, फ्युजनले स्किम्सलाई १०–५ र नव ज्ञानभुमिले भक्तिलाई १२–१० ले पाखा लगाए । इबीएका सुनिल मल्लले ९, एनइएका नारायण पण्डितले १२, मातृभुमिका जीवन गुरुङले ७, फयुजनका रोहित विष्टले ६ र नव ज्ञानभुमिका राज थापाले ८ स्कोर गरे ।

प्रतिक्रिया दिनुहोस्