बिष्णुमति करिडोरमा बूढानीलकण्ठ-टोखाले ल्याण्डपुलिङ्ग गर्न आवश्यक : सांसद निरौला



०३ फागुन २०७६, काठमाडौं

बागमती प्रदेश सांसद दीपक निरौलाले विष्णुमति करिडोरमा बूढानीलकण्ठ र टोखा नगरपालिकाले एकीकृत जग्गा विकास (ल्याण्डपुलिङ्ग) गर्न आवश्यक रहेको बताएका छन् ।

बूढानीलकण्ठ नगरपालिकाको सभाहलमा दुईवटै नगरका जनप्रतिनिधि र सरोकारवालासँग बागमती प्रदेश सांसद निरौलाले ल्याण्डपुलिङ्ग गर्न आवश्यक बजेट प्रदेश सरकारबाट आफूले ल्याउने प्रतिबद्धता समेत जनाए ।

राज्यले चाहेमा मापदण्ड अनुसार काम गर्छ त्यसकारण संरचना बनाएको भए पनि ती संरचना भत्काउनपर्ने हुन्छ । उनले भने बूढानीलकण्ठ ४ मा पर्ने बोक्सिको दहलाई फराकिलो पारेर पोखरी निर्माण गर्ने जसले काठमाडौंका लागि फेवातालको तृष्णा मेटाउन सकोस् । त्यस किसिमले बूढानीलकण्ठ–टोखालाई पर्यटकिय गन्तव्य बनाउन सकिन्छ हामीले यस किसिमको योजना बनाउन आवश्यक छ ।

केही स्थानीयहरुले विष्णुमति खोला हैन खहरे हो भनेर दावी गरेका छन् । तर विष्णुमति खहरे नभएर खोला भएको दावी गर्दै सांसद निरौलाले बिष्णुमति खोला सिमानामा २०२१ सालको नापी र नक्सा  अनुसार नै कोरिडोर निर्माण गरिने दाबी गरे । उनले जग्गाको विषय संवेदनशील भएकोले यसमा जनता मात्र नभएर गलत सिफारिस गर्ने जनप्रतिनिधि आफैं दोषी भएको बताए ।

बिष्णुमति कोरिडोरको विकास र सहर निर्माणका लागि भएको उक्त छलफलमा बूढानीलकण्ठ नगरप्रमुख उद्दव खरेल, उप–प्रमुख रमा राई, टोखा नगरप्रमुख प्रकाश अधिकारी, उप–प्रमुख ज्ञानमाया डङ्गोल सहित बूढानिलकण्ठ वडा नं. ४, ५, ६ र टोखा वडा नं. २, ३ र ६ का स्थानीय र जनप्रतिनिधिहरुबीच छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्