
०२ फागुन २०७६, काठमाडौं
सिन्धुलीमा एक प्रहरी जवानले प्रणय दिवसका दिन एक युवतीलाई प्रेम प्रस्ताव राख्दा अस्वीकार गरेपछि आत्महत्याको प्रयास गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा काजमा कार्यरत प्रहरी जवान २२ वर्षीय चन्द्रकिशोर रायको प्रेम प्रस्ताव अर्की महिला प्रहरीले अस्वीकार गर्दा आफैंलाई गोली हानी आत्महत्याको प्रयास गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीकी प्रमुख एसपी रञ्जु सिग्देलले घाइते अवस्थामा उनलाई उद्दार गरिएको बताएकी छिन् । राय घाइते अवस्थामा भेटेपछि उद्दार गरेर हस्पिटल लाने तयारी गरेका थियौं’, उनले भनिन्, ‘त्यसक्रममा कसैले हानेको हो कि भनेर सोध्दा उनले आफैंले हानेको भनेका छन् ।’
महिला प्रहरी जवानसँगको सम्बन्धबारे भने उनले बताउन चाहिनन् । ‘आफ्नै अगाडि गोली हानेको देखेर होला । उनी बोल्न सक्ने अवस्थामा छैनन्’, सिग्देलले थपिन्, ‘विस्तारै अनुसन्धान हुन्छ ।’





