चुनावले मात्र पार्टी चल्दैन, नेतृत्व बलियो हुन आवश्यक छ : अध्यक्ष नारायण दाहाल



०१ फागुन २०७६, काठमाडौं

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेशका अध्यक्ष नारायण दाहालले चुनावले मात्र पार्टी नचल्ने बताउँदै नेतृत्व बलियो हुन आवश्यक रहेको बताएका छन् ।

बेपत्ता योद्धा फाउण्डेशन नेपालको आयोजनामा भएको २५ औं जनयुद्ध दिवसको शुभकामना आदान–प्रदान कार्यक्रममा बागमती प्रदेशका अध्यक्ष दाहालले तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुन १ गते गणतन्त्र स्थापनाको लक्ष्यसहित जनयुुद्धको आरम्भ गरेको स्मरण गर्दै तत्कालीन एमाले र माओवादी जनयुद्धका शुरुआती वर्षमा तीखो सङ्घर्षमा रहे पनि पछिल्ला समयमा कम्युनिष्ट शक्तिबीचको सहकार्यलाई जोड दिने माओवादीको निर्णयकै पृष्ठभूमिमा हाल नेकपाको एकता भएको उल्लेख गरेका थिए ।

बागमती प्रदेशका अध्यक्ष दाहालले झापा विद्रोह (सुखानीका शहीद) र जनयुद्धका शहीदसम्मलाई जोडेर नेतृत्वले सही विचार र सोचका साथ मुलुकलाई सही गन्तव्यमा पुर्याउन आवश्यक रहेको बताए ।

अध्यक्ष दाहालले सरकारले जनताको भावनालाई आत्मसात् गर्दै त्याग, समर्पण र बलिदानको भावनाका साथ शान्तिपूर्ण सङ्घर्ष, विकास र समृद्धिबाट वैज्ञानिक समाजवादको दिशामा अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा नेकपा बागमती प्रदेश ईन्चार्ज अष्टलक्ष्मी शाक्यले नेपालको जनयुद्धको घटना विश्व इतिहासमा विरलै हुने ऐतिहासक घटना भएको बताईन् । जनयुद्ध र जनआन्दोलनले सामन्तवादलाई परास्त गरेको र साम्रज्यवादलाई कमजोर बनाउने उल्लेख गरिन् । उनले भनिन्, “जनयुद्ध बलिदानको युद्ध हो, मुक्ति र सङ्घर्षको युद्ध हो, यति ठूलो बलिदान संसारको इतिहासमा भएको थिएन, ती शहीदहरुलाई सम्मान गर्दै अब हामीले बहुदलीय प्रतिस्पर्धाका आधारमा समाजवाद स्थापनामा लाग्न आवश्यक छ ।”

संस्थाकी अध्यक्ष रुपा महर्जनले जनयुद्धमा नीजि जीवन त्यागेर सामुहिक जीवन जिएको स्मरण गर्दै अहिले बेपत्ता आयोगले खासै चासो नदिएकोमा दुःख व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्