
२९ माघ २०७६, काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औं स्थापना दिवस राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा सम्पन्न गरिएको छ ।
राष्ट्रपति भण्डारीले स्वतन्त्र संवैधानिक निकायको रुपमा स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कामकारबाहीहरूबाट राज्यप्रदत्त सेवा र सुविधाहरू सरल र सहज रुपमाप्राप्त हुने व्यवस्था सुनिश्चित गर्न, विनियोजित स्रोत साधनको सदुपयोगगर्न तथा सरकारी सम्पत्तिको संरक्षण गर्नमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा व्यक्त गरेका थिए ।
वर्तमान समयमा भ्रष्टाचारका विभिन्न पात्र र प्रवृत्ति देखिएको बताउँदै मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन र विधिको शासन कायम गर्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्र एवम् सरोकारवाला सबै क्षेत्रको सहकार्य र सहयोग जरुरी रहेको उल्लेख गर्दै उनले भने सबैको साझा अठोट र प्रयासबाट मात्र भ्रष्टाचार निर्मूल गर्न सकिन्छ ।
सोही अवसरमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले भ्रष्टाचारलाई समाजको महारोगको संज्ञा दिँदै भ्रष्टाचार विरुद्धको कारबाहीमा आयोगले हालका दिनहरुमा गरेका कार्यहरु तथा देखाएको क्रियाशिलताको प्रशंसा गरेका छन् । साथै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायहरुमा सरकारले कुनै पनि हस्तक्षेप तथा प्रभाव नपार्ने स्पष्ट पार्दै वर्तमान सरकारको मनशाय नै यस्ता संवैधानीक निकायहरुको स्वतन्त्रता रहेको बताए ।
कार्यक्रममा प्रमुख आयुक्त नवीन कुमार घिमिरेले संविधान र कानूनले सुम्पेको जिम्मवारी अनुरुप भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज निर्माण गर्नेतर्फ सार्थक योगदान पुर्याउनु नै आयोगको उद्देश्य भएको बताए ।
कार्यक्रमको प्रारम्भमा आयोगका आयुक्त डा. सावित्री थापा गुरुङले कार्यक्रमका प्रमुख अतिथि लगायत विशिष्ट व्यक्तित्व र सम्पूर्ण अतिथिहरूलाई स्वागत गरेकी थिईन् । आयोगको स्थापना दिवसको अवसरमा विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थितिबाट भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नमा उपस्थित सबै व्यक्तित्वहरूको सद्भाव आयोगलाई प्राप्त भई आयोग परिवारलाई आगामी दिनमा थप उर्जा, हौसला र निष्ठासहित क्रियाशील रहन थप प्रेरणा प्राप्त भएको समेत उल्लेख गरिन् ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रपतिले आयोगका २ कर्मचारीहरूलाई उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार र १३ जना कर्मचारीहरूलाई उत्कृष्ट अख्तियार सेवा पुरस्कार प्रदान गर्नुका साथै आयोगबाट प्रकाशित स्मारिका–२०७६ लोकार्पण समेत गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि प्रधानमन्त्रीले वक्तृत्वकला तर्फ रेसुङ्गा बहुमुखी क्याम्पस, तम्घास, गुल्मीका छात्रा विक्रम पन्थी–प्रथम तथा कविता तर्फ हेटौंडा क्याम्पस, हेटौंडा, मकवानपुरका छात्र पुजन ढुङ्गाना – प्रथम हुनुहुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रमको उत्तरार्द्धमा सञ्चालित जनचेतनामूलक साँस्कृतिक कार्यक्रममा विभिन्न कलाकारहरूद्वारा भ्रष्टाचार विरूद्धका सन्देश प्रवाह गर्ने गीत र नृत्य प्रस्तुत गरिएको थियो ।





