‘टेक्सास-धन्यन्तरी कप’को उपाधि समृद्धिलाई



२९ माघ २०७६, काठमाडौं

‘टेक्सास-धन्यन्तरी कप’ अन्तरकलेज छात्र फुटसल प्रतियोगिताको उपाधि समृद्धि स्कुलले हात पार्न सफल भएको छ ।

धन्यन्तरी फुटसलमा भएको फाइनल खेलमा समृद्धिले केब्स ‘ए’ लाई टाइब्रेकरमा ३–२ गोलले पराजित गरेको हो ।

टेक्सास इन्टरनेसनल कलेज र धन्यन्तरी फुटसलको संयुक्त आयोजनामा भएको प्रतियोगिताको उपाधिसंगै समृद्धिले १ लाख तथा केब्स ‘ए’ ले ५० हजार नगद पुरस्कार हात पारेका छन् । तेश्रो स्थानमा चित्त बुझाएको पशुपति बहुमुखी क्याम्पसले २५ हजार रुपैयाँमा चित्त बुझायो ।

हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा भएको प्रतियोगितामा समृद्धिका दीपेश श्रेष्ठ उत्कृष्ट खेलाडी तथा केब्स ‘ए’ का पासाङ तामाङ उत्कृष्ट गोलरक्षक घोषित भएका छन् । प्रतियोगिताभर १० गोल गरेका जेभियर इन्टरनेसनल कलेजका अमोद सुवेदी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।

विजेतालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य एवं एन्फा फुटसल कमिटीका संयोजक दावा लामा, टेक्सासका प्रमुख कार्यकारी अधिकृत भेषराज पोखरेल, टेक्सास स्कुलका प्रिन्सिपल श्यामसुन्दर श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए ।

खेलाडीलाई विशेष छात्रवृत्ति
टेक्सास कलेजका प्रमुख कार्यकारी अधिकृत पोखरेलले प्रथम हुने विद्यार्थीहरूले टेक्सास कलेज स्नातक तहको कुनै पनि संकायमा अध्ययन गर्दा तीन लाख रूपैयाँसम्मको छात्रवृत्ति पाउने जानकारी गराएका थिए । त्यसैगरी दोश्रो हुनेहरूले दुइ लाख बराबरको छात्रवृत्ति र तेस्रो र खेलमा सहभागी सम्पूर्ण विद्यार्थीहरूका लागि रू एक लाख बराबरको छात्रवृत्ति प्रदान गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्