निर्मला पन्त हत्या प्रकरणको नयाँ प्रतिवेदन : दोषी, दिलीपसिंह विष्ट नै!



२७ माघ २०७६, काठमाडौं

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा गठित छानबिन समितिको प्रतिवेदन त्रुटीपूर्ण रहेको पाइएको छ।

एआइजी धीरू बस्नेतको नेतृत्वमा गठित छानबिन समिति त्रुटीपूर्ण रहेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले उक्त प्रतिवेदन कार्यान्वयन नगर्न कञ्चनपुर प्रहरीलाई निर्देशन दिएको छ।

प्रहरी नायब महानिरीक्षक सुरज केसीको नेतृत्वमा गठित पुनरावलोकन समितिले नयाँ प्रतिवेदन दिँदै पन्त हत्यामा दिलीपसिंह विष्ट नै दोषी रहेको निष्कर्ष निकालेको हो।

‘निर्मला पन्त बलात्कार हत्यामा नयाँ प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिइएको छ। उक्त प्रतिवेदन अपराध अनुसन्धान विभाग हुँदै कञ्चनपुर पुगेको छ।’ प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले भनेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक अंगुर जिसी नेतृत्वको समितिले विष्ट नै दोषी किटान गरेको थियो। तर, बस्नेत प्रतिवेदनले सो प्रतिवेदन उल्टाएपछि उनै जिसी निलम्बनमा परेका थिए।

प्रमाण लोप गराएको आरोपमा एसपी दिल्लीराज विष्ट बर्खास्तमै परेका थिए। यस्तै डिएसपी ज्ञानबहादुर सेटीसहितका प्रहरी निलम्बनमा परेका थिए।

बस्नेत प्रतिवेदन कार्यान्वयन नगर्न भनेपछि अब पहिले भएका निर्णय तथा प्रहरी कर्मचारीमाथि भएको कारबाहीले कुन रुप लिन्छ? भनेर प्रश्न उठ्न थालेको छ।

केसी प्रतिवेदनले बस्नेतले ‘टर्चर’ दिएर प्रहरी कर्मचारीसँग बयान लिएको खुलेपछि उनको प्रतिवेदन विवादमा आएको थियो।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी तारिणीप्रसाद लम्सालले नयाँ प्रतिवेदन आइनसकेको बताए। तर, बस्नेत प्रतिवेदन कार्यान्वयन नहुने भएपछि अब के कसरी कारबाही अगाडि बढ्छ भन्ने प्रतिवेदन हेरेर मात्रै बताउन सकिने उनको भनाई छ।

आइतबार नै कञ्चनपुर प्रहरीलाई प्रतिवेदन पठाइएको दाबी गरिए पनि त्यहाँका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले आफ्नो कार्यालयमा प्रतिवेदन  आइनपुगेको बताए। ‘नयाँ प्रतिवेदन आएको भन्ने सुनियो। तर. यहाँ कार्यान्वयनका लागि आइसकेको छैन,’ मरासिनीले भने।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्