पाँच वर्षपछि बूढनीलकण्ठमा माधवनारायण जात्रा (फोटो फिचर)



२७ माघ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ स्थित चुनिखेलमा पाँच वर्षपछि माधवनारायण जात्रा धुमधामसँग मनाईएको छ ।

चुनिखेलमा पाँच दिनदेखि भव्यताका साथ मनाईएको माधवनारायण जात्रालाई आगामी वर्षहरुमा निरन्तरता दिने बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले परिवर्तन खबरलाई बताएका छन् ।

हिन्दु परम्परा अनुसार स्वस्थानी ब्रत कथासँगै चलिआएको माधवनारायण जात्रा चुनिखेलमा विगत पाँच वर्षदेखि मनाउन छाडिएको थियो । लोपहुन हुने अवस्थामा पुगेपछि परम्परा र सँस्कृति बचाउनको लागि माधवनारायण जात्रालाई पुनःजागरण गर्ने उदेश्यकासाथ यस वर्ष विशेष गरि मनाउन लागिएको समाजसेवी टिकेस श्रेष्ठको भनाई छ ।

स्वस्थानी ब्रतको पहिलो पुर्णिमादेखि हरेक बिहानी श्रद्धालुहरू टुसाल ऋषेश्वर महादेवमा स्नान गरी माधवनारायण भजन गर्दै टुपेक गणेश मन्दिरमा बिसर्जन गर्ने गरेको स्थानीयले बताए ।

माघ कृष्ण एकादशी देखि पुर्णिमासम्म पाँचजना माधवनारायणका भक्तले शीरमा फेटा बाँधेर कलश बोकी बिहानै मन्दिर दर्शन गर्ने चलन छ । अन्तिम दिन चुनिखेल गाउँमा कलशसंगै द्वान दाये (बाटो भरी सुतेर दर्शन गरिने) गरी परिक्रमा गर्ने चलन छ । माधव नारायण जात्राको अन्तिम दिन द्वान दाये गरी  गाउँ परिक्रमा गर्दा स्थानिय बाजा गाजाका साथ सम्पूर्ण गाउँबासीको प्रत्येक घरबाट एक जना ब्रत बसी जत्रा मनाउने चलन रहेको छ ।

स्वस्थानीको ब्रत गर्दै माधवनारायण जात्रामा सहभागि हुँदा जीवनमा सुख, शान्ति तथा गृहस्थी जीवन फलिफाप हुने बताइन्छ । जसरी स्वस्थानीमा  माता पार्वतीले ब्रत बसेर महादेव स्वामी पाइन् त्यस्तै गोमा माताले ब्रत बसेर सुख भोग गरिन्, जसरी नवराजले राज गद्दि प्राप्त गरे त्यसरी नै माधवनारायण जात्राको कृपाले सुख, शान्ती पाउने जनविश्वास रहेको छ । यस जात्रामा सहभागि हुँदा चाहेको सन्तान प्राप्त हुनेसमेत परम्परा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्